बैतडी –बैतडीसहित सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु भएको छ । साउन महिनालाई पहाडी समुदायले बत्ती बाल्ने महिनाको रुपमा मनाउने गरेका छन् । श्रावण महिना शुरुभएसंगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने गरिएको छ । आजका दिनदेखि देवीदेवताका मन्दिरहरुमा जाग्राम बसेर भजनकीर्तन गर्ने चलन समेत रही आएकोे स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने चलन समेत रही आएको छ ।
साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् । साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेका छन् । श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा लिने गरिन्छ ।’
बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् । जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिर, शिवनाथमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगासधुरा मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, शिवनाथमा रहेको शिवनाथ मन्दिर, सुर्नया गाउँपालिकामा रहेको गोफाकेदार मन्दिर, पाटन नगरपालिकामा रहेको महारुद्र मन्दिर, दशरथचन्द नगरपालिका–१ मा रहेको महारुद्र मन्दिर लगायतका मन्दिरहरुमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् ।


