अत्तरिया । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहरा विरुद्ध अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतको अवहेलना गरेको विषयमा कारबाही किन नहुनु पर्ने भन्दै बोहरालाई १५ दिनभित्र आधार, कारण र प्रमाण सहित जवाफ पेश गर्न उच्च अदालत दिपायलले आदेश जारी गरेको हो । अध्यक्ष बोहराले अदालतले दिएको आदेशको अवहेलना गरेकाले कारण देखाउ आदेश जारी गरिएको बताईएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष सहित ५ जना पदाधिकारी र ६ जना सदस्यहरूले गत मंसिरमा राजीनामा दिएपछि अध्यक्ष बोहराले ६ जना सदस्य मनोनित गरेका थिए ।
तर, सो विषयमा उच्च अदालत दिपायलमा दर्ता भएको मुद्धामा गत फागुन १३ गते न्यायाधीश डण्डपाणि शर्मा र अस्मिन कुमार राईको संयुक्त इजलासले मनोनीत गरिएका सदस्यहरूको पद बदर गर्ने र विधान बमोजिम संघका सदस्य पदाधिकारी समेतको पदपुर्ति गर्ने निर्णय सुनाएको थियो । सो इजलासले संघको विधान बमोजिम संघ सञ्चालन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा समेत परमादेश जारी गरेको थियो ।
अदालतको आदेश पश्चात संघका अध्यक्ष बोहराले व्यवसाय नवीकरणका लागि सूचना जारी गरेपछि पुनः सो विषयमा उच्च अदालत दिपायलमा अवहेलनाको निवेदन दायर भएको हो । सो निवेदनमा संघको साधारण सदस्यहरुको सदस्यता नविकरण गर्न र नयाँ इच्छुक व्यापारीहरुलाई सदस्यता लिन संघका अध्यक्ष बोहराले सूचना जारी गरेको भनिएको छ । त्यस्तै संघको भवन उद्घाटनका लागि पनि पत्राचार गरेको निवेदनमा उल्लेख गरिएको छ ।
बोहराले सदस्यता नविकरण र नयाँ सदस्यताका लिनका लागि सूचना जारी गर्नु अदालतको आदेशको अवहेलना भएको सो निवेदनपत्रमा भनिएको छ । सो निवेदनपत्रमा यही असार ३० गते अदालतका मुख्य न्यायाधिश डण्डपाणि शर्मा र न्यायाधिश अस्मिनकुमार राईले फैसला गर्दै संघका अध्यक्ष बोहरा सहित जिल्ला प्रशासन कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेका हुन ।
सो आदेशमा जिल्ला प्रशासन कार्यालयलाई उच्च सरकारी वकिलको कार्यालय मार्फत र बोहरालाई आफै वा आफ्नो कानूनबमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।


