धनगढी । धनगढीको त्रिनगर माध्यमिक विद्यालयले तेक्वान्दो प्रशिक्षकले विद्यालयकी छात्रामाथि बलात्कार गरेको आरोप गलत भएको टिप्पणी गरेको छ । धनगढीका केही अनलाइन सञ्चारमाध्यमहरूमा प्रकाशित भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै विद्यालयले बलात्कार आरोपीत पृथ्वीराज घिमिरे आफ्नो विद्यालयको शिक्षक तथा प्रशिक्षक नभएको दाबी गरेको छ ।
विद्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, “धनगढीका केही अनलाइन सञ्चारमाध्यमहरूले त्रिनगर विद्यालयका तेक्वान्दो खेल प्रशिक्षकले १३ वर्षीया बालिकालाई बलात्कार गरेको समाचार प्रकाशित गरेका छन्। तर, सो समाचार पूर्णतः भ्रामक र झुटो छ। समाचारमा उल्लेख गरिएका व्यक्ति त्रिनगर विद्यालयका प्रशिक्षक, शिक्षक वा कुनै पनि कर्मचारी होइनन्। िविद्यालयका अनुसार हाल कक्षा ११ को भर्ना अभियान चलिरहेको सन्दर्भमा विद्यालयलाई बदनाम गर्ने नियतका साथ समाचार प्रकाशित गरिएको उनीहरूको ठहर छ।
“हाम्रो विद्यालय यो क्षेत्रकै अग्रणी शैक्षिक संस्था हो। शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यमा गुणस्तरीय शिक्षामा निरन्तर सुधार गर्दै आइरहेको छ,” विज्ञप्तीमा भनिएको छ। विद्यालय प्रशासनले पत्रकारहरूप्रति सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न आग्रह गर्दै तेक्वान्दो प्रशिक्षक भनी गरिएको भ्रामक प्रचार तत्काल सच्याउन सम्बन्धित सञ्चारमाध्यमसँग अनुरोध गरेको छ। तर, विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै आरोपित घिमिरे आफ्नो शिक्षक वा प्रशिक्षक नभएको दाबी गरेपनि उनी त्रिनगर माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेर सोही विद्यालयका विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण दिदै आएका थिए ।
घिमिरेबाट बलात्कारमा परेकी भनिएकी बालिका समेत सोही विद्यालयमा अध्ययनरत छात्रा हुुन् । तर विद्यालयले यो कुरा कतै उल्लेख गरेको प्रेस विज्ञप्तिमा छैन ।


