दार्चुला: शैल्याशिखर नगरपालिकाले जीवित व्यक्तिलाई मृत घोषणा गर्दै कृषक समूहको बैंक खाता नवीकरणको सिफारिस गरेको छ। उक्त सिफारिसपत्र नगरपालिकाका कृषि शाखामा कार्यरत कृषि प्राविधिक दिपक राज विष्टले हस्ताक्षर गरी पठाएका हुन्। सिफारिसमा वडानं. ६ मा गठन गरिएको श्री मालिकार्जुन अगुवा कृषक समूहका अध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भएको दाबी गर्दै, नयाँ अध्यक्षका रूपमा जनकसिंह धामी र सचिव बस्ती बोहरालाई मान्यता दिन अनुरोध गरिएको छ। तर, सच्चाइ निकै फरक छ। जानकी धामी र मञ्जु धामी दुवै हाल जीवित छन्। उनीहरू गाउँमै दैनिक जीवन यापन गरिरहेका छन्। यसले देखाउँछ कि कानुन मिच्दै, मृतक घोषणा गरिएको र नियोजित रूपमा समूहको खाता नियन्त्रणमा ल्याउने प्रयास गरिएको हो।
मेयरकै छोराको फाइदाका लागि सिफारिस
यो घटनालाई झनै गम्भीर बनाउने पक्ष के भने, खाताको नयाँ अध्यक्षका रूपमा सिफारिस गरिएका जनकसिंह धामी, शैल्याशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन्। राजनीतिक पहुँचको प्रयोग गर्दै आफ्नै छोराको नाममा समूहको खाता नवीकरण गर्न खोजिएको प्रत्यक्ष प्रमाण यस घटनाले उजागर गरेको छ।
कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता
सिफारिसमा हस्ताक्षरकर्ता कृषि प्राविधिक दिपक राज विष्टको प्रत्यक्ष संलग्नता देखिएको छ । व्यक्तिले राज्यबाट पाउने सेवा, सुविधा प्राप्त गर्न र कानुनबमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र जरुरी हुन्छ । घटना घटेको व्यक्तिको स्थायी बसोबास रहेको गाँउरनगरपालिकाको वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता गर्न सकिन्छ । सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको स्थानीय पञ्जिकाधिकारीले व्यक्तिगत घटना दर्ता गर्छ । व्यक्तिगत घटना दर्ता गर्न व्यवस्थापन सूचना प्रणालीको अनलाइन घटना दर्ता समेतको व्यवस्था गरिएको छ । तर कृषि अधिकृत विष्टले जिउँदै मान्छेलाई मृत घोषणा गरि सिफारिस लेखेका छन् । कानुनी रूपमा मृत्यु दर्ता नभएको अवस्थामै मृत घोषणा गर्दै बैंकमा खाता अद्यावधिक गर्न सिफारिस गर्नु केवल प्रशासनिक गल्ती मात्रै होइन, यो गम्भीर अपराधिक कार्य हो ।
यता ग्लोबल आइएमइ बैंक गोकुलेश्वरले मृत भनिएका दुवै जना असार २४ गते बैंकमा उपस्थित भएको जनाएको छ । ती कर्मचारीका अनुसार नगरपालिकाले लेखेको पत्र बैंकमा आएको भएपनि पत्रमा लेखिए अनुसार मृत भनिएका व्यक्ति ज्युदै भएको कारण बैंकखातामा कुनै हेरफेर गरिएको छैन । “मृत भनिएका दुवै जना हिजो बैंकमा उपस्थित भएका थिए, उहाँहरु उपस्थित भएपछि पत्रअनुसार कार्य गर्ने कुरै भएन” ती कर्मचारीले भने ।


