बैतडी–बर्षासंगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको छ । मंगलबार राति बर्षासंगै आएको हावाहुरी मकैबाली ढलाएर नष्ट गरेको हो । घोगा लाग्नै लागेको मकैबालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । सुर्नया गाउँपालिका वडा नं ८को ढोले, कठमडा, सेला र दोरामा मकैबालीमा व्यापक क्षति पुर्याएको स्थानीय रामबहादुर साउँदले बताए । यी टोलहरुमा एक हजार बढी घरधुरी रहेका र सबैको मकैबारीमा क्षति पुगेको साउँदले बताए ।
यस्तै दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा बर्षा र हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । मंगलबार राति बर्षासंगै आएको हावाहुरीले मकैबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् । मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा हावाहुरीले क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । बैतडीका मकै पकेट क्षेत्रमै हावाहुरीले क्षति पुर्याएपछि मकैको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।
बैतडीमा १३ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । पछिल्ला बर्षहरुमा विभिन्न कारणले मकैबालीमा क्षति हुँदा किसानहरु मार्कामा पर्ने गरेका छन् ।


