धनगढी । हुलाक सेवा समय अनुसार परिष्कृत हुनुपर्नेमा जोड दिइएको छ । हुलाक निर्देशनालय कैलाली र कैलालीमा कार्यरत सञ्चारकर्मीबिच अन्तरक्रिया कार्यक्रममा हुलाक सेवाले आफूलाई समय अनुसार परिष्कृत गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा। वीरेन्द्रकुमार मिश्रले हुलाक सेवाको आवश्यकता अझै बढेकाले हुलाक सेवालाई समयानुसार परिष्कृत गर्दै लैजानुपर्ने बताए । उनले हुलका सेवाको अझै आवश्यकता बढेकाले हुलाकले त्यसलाई समय अनुसार परिवर्तन गर्नुपर्ने बताए ।
कार्यक्रममा हुलाक निर्देशनालय कैलालीका निर्देशक गोविन्दप्रसाद पाण्डेले परिवर्तित समयमा हुलाकले दिँदै आएका सेवा परिवर्तन गर्दै लगेको बताए । उनले सूचना प्रविधिको विकासले फड्को मारे पनि हुलाक सेवाको प्रभावकारिता कायमै रहेको बताए ।
उनले हुलाकले गर्ने व्यक्तिगत काम कम भए पनि बैङ्क तथा वित्तीय संस्थाका कामको चाप बढेको बताए । उनले हाल हुलाकले स्वास्थ्यका रिपोर्ट बोक्ने, राहदानी पु(याउने, मालपोतको स्रेस्ता बोक्ने लगायतका काम गरिरहेको बताए । उनले हुलाक कार्यालयले जनक शिक्षाको पुस्तक पनि हुलाक मार्फत गर्ने तयारी भएको बताए ।
मुलुक सङ्घीय संरचनामा गएपछि हुलाकमा पनि कार्यालयको संरचना परिवर्तन भएको उनले बताए । उनले हुलाकका हाल सात वटै प्रदेशमा निर्देशनालय र सात सय ५३ वटै स्थानीय तहमा स्थानीय हुलाक कार्यालय रहेको बताए ।
कार्यक्रममा हुलाक मार्फत हुने सञ्चार माध्यमका कामको बारेमा छलफल गरिएको थियो । निर्देशक पाण्डेले सङ्घीय सरकार मार्फत सञ्चार माध्यमलाई दिइने लोक कल्याणकारी विज्ञापन जिल्ला हुलाक मार्फत दिइने भएकाले त्यसका लागि आवश्यक प्रक्रियाका बारेमा जानकारी दिएका थिए । हाल रेडियो, पत्रपत्रिका, अनलाइन दर्ता, नवीकरण, पत्रकार परिचय पत्रका काम हुलाक कार्यालय मार्फत हुँदै आएका छन् ।


