कैलाली । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बालुवाटारमा दिउँसो करिब एक घण्टा वान टु वान कुराकानी भएको हो । चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेको भन्दै ओलीसँग कुरा राखेका थिए । मन्त्री बर्खास्तपछि प्रदेश र संघमा आफ्नो पार्टीले समर्थन फिर्ता लिएको विषयमा पनि उनीहरूबीच संवाद भएको रेशम चौधरीको सचिवालयले जनाएको छ ।
‘दिउँसो सवा १२ बजेदेखि उहाँहरूबीच करिब एक घण्टा बढी छलफल भएको थियो ’, स्रोतले भन्यो ‘पछिल्लो राजनीतिक अवस्था र सुदूरपश्चिम प्रदेशको मन्त्री बर्खास्तलगायतका विषयमा छलफल भएको हो । ’ शाहको सरकार गठन बनाउन आफूहरूले ठूलो भूमिका रहेको भएपनि विनाकारण हटाएको भन्दै चौधरीले तत्काल सरकारबाट हटेको बताए ।
प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएको चौधरीको सचिवालयको भनाइ छ । ‘प्रधानमन्त्रीज्यूले पनि देउवासँग कुरा गर्छु भन्नुभएको छ । उहाँ (रेशम) ले पनि सभापति देउवालाई भेट्ने कार्यक्रम रहेको छ’ रेशमनिकट स्रोतले भन्यो ‘देउवालाई भेटेपछि थप विषय अगाडि बढ्छ ।’ शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिएको नाउपाले शनिबार संघ सरकारबाट पनि समर्थन फिर्ता लिने निर्णय गरेको थियो । आइतबार नाउपाको तर्फबाट राज्यमन्त्री रहेका अरुण चौधरीले राजीनामा दिने बताइएपनि प्रधानमन्त्री राति अबेर आएपछि राजीनामा बुझाइएको थिएन ।
देउवाको सन्देश बोकेर हिजो मुख्यमन्त्री शाह रेशम चौधरीलाई भेट्न बर्दियास्थित उनको घर पुगेका थिए । रेशमले सत्ता समीकरणको छलफल केन्द्रमै हुने भनेका थिए । सोहीअनुसार आज प्रधानमन्त्री ओलीलाई भेटेका रेशमले देउवालाई पनि भेट्ने कार्यक्रम रहेको छ ।


