धनगढी: सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टी केन्द्रको पत्र आएपछि समर्थन फिर्ताको निर्णय लिएको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । ‘हामीले समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौँ’ उनले भने ‘अब हामी प्रतिपक्षमा बस्छौँ ।’ मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि नागरिक उन्मुक्तिले चिढिएको थियो । त्यसको भोलिपल्टै नाउपाले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
दलको बैठकमा घनश्याम चौधरीसहित टीका थापा, इन्दिरा गिरी र रामेश्वर चौधरी उपस्थित थिए । सांसद कैलाश चौधरी, लक्ष्मण किशोर चौधरी र खुशीराम डगौरा थारू भने दलको बैठकमा अनुपस्थित थिए । प्रदेशसभामा चौथो ठूलो दल नागरिक उन्मुक्तिका सात सांसद छन्। आर्थिक लेनदेनसँग जोडिएको विवादित अडिओ संवाद सार्वजनिक भएपछि तत्कालीन मन्त्री लक्ष्मण किशोर चौधरीले गत फागुनमा पदबाट राजीनामा दिन बाध्य भएका थिए । रामेश्वर चौधरी ४ जेठमा मन्त्री नियुक्त भएका हुन् ।
त्यसको करिब एक महिनापछि महत्त्वपूर्ण नियुक्तिमा समन्वय नगरेको र अख्तियारले पनि छानबिन गरिहरेको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई गत ३ असारमै राजीनामा दिन निर्देशन दिएका थिए । तर, मन्त्री चौधरीले मुख्यमन्त्रीलाई उल्टै सके हटाउन चुनौती दिएपछि बिहीबार मुख्यमन्त्रीले पदमुक्त गरेका हुन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि सरकार प्रस्ट बहुमतमा छ । हाल ५२ सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सहित सरकारसँग २९ सांसदको समर्थन छ ।
सरकार गठन गर्दा नाउपाको हस्ताक्षर नभएको हुँदा नाउपाले समर्थन फिर्ता लिँदा पनि मुख्यमन्त्रीले विश्वासको मत लिनु नपर्ने देखिएको छ ।