धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनी सुख्खा बन्दरगाहको छिट्टै शिलान्यास गरिने बताएका छन् । शनिबार सुख्खा बन्दरगाह निर्माण स्थलको निरीक्षण गर्दै मन्त्री भण्डारीले चाडै नेपाल र भारतका प्रधानमन्त्रीले चाडै संयुक्त रूपमा शिलान्यास गर्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सुख्खा बन्दरगाह संयुक्त रूपमा शिलान्यास गर्ने बताए । भण्डारीले भारतीय राजदुतसँगको छलफलपछि शिलान्यासको मिति तय गरिने बताए । सुख्खा बन्दरगाह निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाइसकेको छ भने नेपाल सरकारले एक हजार पाँच सय ९३ रूख कटान गरिसकेको छ ।
नेपाल सरकारले निर्माण कार्यका लागि जग्गाको स्वामित्व हस्तान्तरण गरेर सुख्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्री भण्डारीले सुख्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिमसहित मुलुकको औधोगिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।



