डोटी — डोटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आज दिउँसो १:४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडक खण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परेर सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षकी हरुदेवी विक, जिप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षकी काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४स्१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।
दुर्घटनामा आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षकी स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमाना बस्ने २२ वर्षका कैलाश विष्ट, १४ वर्षका दीपक विष्ट घाइते र मृतक काली कटुवालकी १० वर्षकी छोरी साबिता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।