धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले आफै अध्यक्ष रहेको संस्थाका लागि प्रतिष्ठानबाटै बजेट विनियोजन गरेका छन्। जोशीले आफैं अध्यक्ष रहेको कैलाली जनपुस्तकालयलाई प्रज्ञा प्रतिष्ठानको आगामी आर्थिक वर्षको बजेट सिलिङबाट १० लाख रकम विनियोजन गरेका हुन् । कैलाली जनपुस्तकालयमा ई-लाइब्रेरी स्थापना तथा पुस्तक खरिद शीर्षक राखेर प्रज्ञा प्रतिष्ठानले १० लाख बजेट विनियोजन गरेको हो।
प्रदेश सरकारले बजेट तयारीका क्रममा चार बुँदे मापदण्ड सार्वजनिक गर्दै प्रदेश सरकारले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थाहरूलाई तोकेर बजेट विनियोजन नगर्ने जनाएको थियो । तर, उक्त मापदण्डविपरीत जनपुस्तकालयको नाम नै तोकेर प्रज्ञा प्रतिष्ठानले बजेट विनियोजन गरेको छ । आफै अध्यक्ष रहेको संस्थालाई उपकुलपति जोशीले बजेट विनियोजन गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ।


