धनगढी: चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सुदूरपश्चिम सरकारको कूल रु आठ अर्ब ७९ करोड ५१ लाख खर्च भएको छ ।
कूल विनियोजनमध्ये चालुतर्फ रु चार अर्ब ८६ करोड ९५ लाख र पूँजीगततर्फ रु तीन अर्ब ९२ करोड ५७ लाख खर्च भएको छ । सोही अवधिमा प्रदेश सरकारको बजेट बचत रु १० अर्ब ९८ करोड नौ लाख र राजस्व घाटा रु तीन अर्ब ६५ करोड ६६ लाख रहेको छ ।
प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आजको प्रदेशसभा बैठकमा चालु आवको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आवमा बजेट विलम्ब गरी आएकाले खर्च प्रभावित भएको जानकारी दिए । चालु आवको चैतसम्ममा कूल विनियोजनको अनुपातमा चालु खर्चतर्फ ३७.८ र पूँजीगत खर्चतर्फ २०.९ प्रतिशत खर्च भएको छ । गत आवभन्दा चालु खर्च बढ्दा पूँजीगत खर्च घटेको छ ।
प्रदेशको आन्तरिक आय रु एक अर्ब एक करोड २९ लाख रहेको छ । प्रदेशका स्थानीय तहतर्फ कूल रु ४१ अर्ब ४३ करोड खर्च भएको छ । यस अवधिमा कर राजस्वतर्फ १४.२ प्रतिशत र गैरकर राजस्वतर्फ २५.७ प्रतिशतले वृद्धि भएको मन्त्री थापाले जानकारी दिए ।
कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको ७.०३ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.५२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.१९ प्रतिशत रहेको बताइएको छ । यस्तै चालु आवमा आर्थिक वृद्धिदर सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत, सबैभन्दा बढी गण्डकी प्रदेशको ५.५१ प्रतिशत हुने अनुमान गरिएको छ ।