कञ्चनपुर: कञ्चनपुरका आरक्षपीडितले पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा भोक हडताल सुरु गरेका छन् । शुक्लाफाँटा आरक्षपीडित केन्द्रीय संघर्ष समितिको आयोजनामा पीडितका अगुवाहरूले मंगलबारदेखि काठमाडौंको सिफलमा भोक हडताल सुरु गरेका हुन् । ०५८ सालमा कञ्चनपुरका विभिन्न स्थानबाट विस्थापित पीडितहरूको २४ वर्ष बित्दा पनि पुनर्स्थापना नभएको र राज्यले आश्वासन दिएर अल्झाउने काम गरेको भन्दै हडताल सुरु गरेका छन् । पीडितहरूले खोसिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, पीडितको पुनर्स्थापना गर्नुपर्ने, ३४औँ आयोगले दिएको प्रतिवेदनको अनुसूची ९ठ० लागू गर्नुपर्ने, दिवानसिंह विष्टको पालामा विद्यानाथ अधिकारीले तोक लगाएको प्रतिवेदन पास गर्नुपर्ने, सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । पुनर्स्थापनाको क्रममा कम्तीमा १० कट्ठा जमिन दिनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने, उठीबास गर्दा जलाइएको घरगोठ दिनुपर्ने माग गरिएको छ ।
शुक्लाफाँटा आरक्षपीडित केन्द्रीय संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले सरकारले माग सम्बोधन नगर्दासम्म हडताल जारी रहने बताए । ‘०५८ सालमा विस्थापित भएका हामी आश्वासनको भरमा यहाँसम्म पुग्यौँ । सरकारले यसो गर्छौँ भन्यो । तर, गर्ने वेला सरकार भेटिएन । यो ९भोक हडताल० गर्दा कतै सरकार भेटाउँछ कि भन्ने आशाले बसेको हो,’ उनले भने । १० कट्ठा जग्गा र २४ वर्षको क्षतिपूर्तिको आफूहरूको मुख्य माग भएको अध्यक्ष चन्दले बताए । आफूहरू एक महिनादेखि काठमाडौं आएर नेताहरूको घर धाउँदा–धाउँदा सुनुवाइ नभएपछि भोक हडतालमा बस्न बाध्य भएको उनको भनाइ छ ।


