कञ्चनपुर — महाकाली कोरिडोर अन्तर्गत पर्ने कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा रुख कटान सुरु गरिएको छ । विगतमा ट्र्याक नखोलिएको चुरे क्षेत्रसँग जोडिएको उक्त क्षेत्रमा दुई हप्तादेखि रुख कटान भइरहेको हो । दुई वर्षअघि नै कटान आदेश भए पनि कोरिडोरको ० किलोमिटर क्षेत्रमा रुख कटान भएको थिएन । ब्रह्मदेवको उत्तरी क्षेत्रमा रहेको खल्ला मुसेट्टी क्षेत्रमा दुई वर्षअघि नै रुख कटान गरिएको थियो ।
‘कटान आदेश पुरानै हो, म्याद थप गरेर अहिले सुरु गरिएको हो,’ डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत सुवास कुँवरले भने, ‘कटान र घाट गद्दीको काम सँगै भइरहेको छ ।’अघिल्लो पटक कटान गरिएको क्षेत्रमा ढिलो गरी घाटगद्दी गर्दा काठ चोरी हुने तथा साना गोलियाहरु बनाइएको विषयमा समेत विवाद भएको थियो । डिभिजन वन कार्यालयका अनुसार अहिले देखि ११ किलोमिटर क्षेत्रमा पर्ने ९ सय १५ रुख कटानका लागि म्याद थप भएको छ । असार भित्रै उक्त रुखहरू कटान गरिसक्नुपर्ने हुन्छ । अहिले रुख कटान भइरहेको क्षेत्र सिद्धनाथ सामुदायिक वनमा पर्दछ ।
दुई वर्षअघि ट्र्याक खोलिएको क्षेत्रमा पनि आवश्यकता अनुसार थप रुखहरू काटिनेछन् । ‘त्यति बेला ट्र्याक खोल्नका लागि मात्रै रुख काटिएको थियो । अहिले ट्र्याक चोडा पार्नेदेखि स्तरोन्नतिको कामका लागि पनि थप रुखहरू कटान गर्ने पर्ने छ । अहिले पनि ब्रह्मदेव क्षेत्रमा ट्र्याक खोल्नका लागि मात्रै रुख कटान गरिनेछ । ट्र्याक बिस्तार गर्दा थप रुख कटान गरिनेछ । अहिले कटान भइरहेकोमा साल, सिसौ, सिमल, हर्रो बर्रो र असना लगायतका प्रजातिका रुख छन् । हरेक दिन कटान भएकाहरू रुखका गोलिया बनाएर सामुदायिक वनकै कार्यालयमा घाट गद्दी गर्ने काम भइरहेको छ । करिब एक सातादेखि सुरु गरिए पनि हालसम्म एक सय हाराहारी रुख काटिएका छन् ।
‘विगतमा एकै दिन सबै रुख ढाल्ने र त्यसपछि मात्रै गोलिया बनाएर घाट गद्दीको काम हुन्थ्यो,’ कुँवरले भने, ‘त्यसरी गर्दा चोरी हुने जोखिम हुन्छ, गत विगतमा विवाद पनि भयो, त्यही भएर अहिले रुख काट्ने, गोलिया बनाउने र घाट गद्दी गर्ने काम सँग सँगै भइरहेको छ ।कान्तिपुरबाट


