धनगढी: कैलालीको गोदावरी नगरपालिका- ३ चौकीडाँडा सामुदायिक वन क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न पछि बिहीबार नेपाल सरकारका उप(प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अब यो ठूलो परियोजना निर्माण सम्पन्न भएको र यसलाई संचालन गर्ने मुख्य जिम्मेवारी गोदावरी नगरपालिकाको रहने बताए । उनले ठूलो लगानी भएको अब यसको सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।
शहरी विकास मन्त्रालय सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एसियाली विकास बैङ्क प्रतिनिधि,गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, शहरी विकास मन्त्रालयका प्रतिनिधि सँगै स्थानीय जनप्रतिनिधि लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीको संयोजनमा केन्द्रको निर्माण गरिएको हो । यसको कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँ रहेको यस परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण अनुदानबाट र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट पूरा गरिएको हो ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चिनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ । अपरेसन इन्चार्ज आचार्यका अनुसार, केन्द्रमा संकलित फोहोरलाई वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिनेछ भने रिसाइकल गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिनेछ । यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय कृषकलाई जैविक मल प्राप्त हुने अपेक्षा गरिएको छ ।
स्थानीय रोजगारीलाई प्राथमिकता दिँदै केन्द्रमा ४० जना भन्दा बढी स्थानीयलाई योग्यता अनुसार रोजगारी प्रदान गरिने छ । परियोजनाले प्रत्यक्ष र अप्रत्येक्ष रूपमा स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्याउने विश्वास गरिएको छ । परियोजना सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भएर आजबाट उद्घाटनसँगै संचालनमा आउने परियोजना प्रतिनिधिले जनाइएका छन् । फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनःप्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टको भनाई छ ।
कुहिने फोहोर तथा दिसाजन्य वस्तुबाट मलखाद उत्पादन गरिनेछ ।