धनगढी । कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। भजनी नगरपालिका र टिकापुर नगरपालिकाबाट गरी प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो। सोमबार साँझ ५ बजे जिल्ला कैलाली, भजनी नगरपालिका–२ रजवारास्थित सडकमा सुपप्र ०१ ००८ प ४२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शंका लागेपछि मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय शंकर चौधरी र १६ वर्षीय एक किशोर रहेका छन्। उनीहरूबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय भजनिका अनुसार जानकारी प्राप्त भएको छ। मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
टिकापुरबाट एक पक्राउ
सोमबार साँझ करीब ७ बजेतिर टिकापुर नगरपालिका–१ ब्लक नंम्बर ११ ड्राइभरटोलस्थित सडक खण्डमा चेकजाँचको क्रममा ३३ वर्षीय आशिष कोरालालाई पनि शंका लागेर प्रहरीले नियन्त्रणमा लिएको छ। चेकजाँचका क्रममा उनीबाट ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध फेला परेको हो।
दुबै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


