कञ्चनपुर: कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र स्थापनाको चर्चा सुरु भएको तीन दशक बित्यो । पहिलोपटक २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा उठेको थियो, बेदकोट नगरपालिकाको दैजी क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने विषय । त्यसपछिका हरेक निर्वाचनमा औद्योगिक क्षेत्र स्थापनाको योजना दलहरूको एजेन्डा बन्यो । तर, औद्योगिक क्षेत्र बनाउने निर्णय गर्न नै दुई दशक लाग्यो । १ चैत २०७२ मा मन्त्रिपरिषद्ले दैजीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि हरेक बजेटमा पनि अटाएको हुन्थ्यो, दैजीमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना । तर, काम भने सुरुवात नै भएन ।
औद्योगिक क्षेत्र बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको पाँच वर्षपछि १० फागुन २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट औद्योगिक क्षेत्रको शिलान्यास गरियो । शिलान्यासको पनि चार वर्ष बितेको छ । औद्योगिक क्षेत्र निर्माणको काम भने सुरु पनि हुन सकेको छैन । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पनि दैजीमा औद्योगिक क्षेत्र बनाउने उल्लेख छ । अर्थमन्त्री पौडेलले दैजीमा लगानी बोर्डमार्फत आधुनिक औद्योगिक क्षेत्र स्थापना गरिने बताए । तर, औद्योगिक क्षेत्र बनाउने चर्चा सुरु भएको तीन दशक र शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि काम सुरु नभएकाले यो बजेटमा पनि औपचारिकताका लागि मात्रै उक्त योजना समेटिएको आशंका गर्न थालिएको छ ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले बजेटमा दैजी औद्योगिक क्षेत्रको नाम मात्रै उच्चारण भएको बताउँदै निर्माण सुरु हुनेमा आशंका व्यक्त गरे । ‘बजेट रकम तोकेरै आएको भए औद्योगिक क्षेत्र बन्छ कि भन्ने आशा पनि हुने थियो,’ मल्लले भने, ‘तर, विगतका वर्षजस्तै आधुनिक औद्योगिक क्षेत्र स्थापना गरिने मात्रै भनिएको छ । यो सुदूरपश्चिमवासीलाई झुक्याउने मात्रै काम हो ।’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार औद्योगिक क्षेत्र स्थापना हुने भनिएको क्षेत्रमा रहेका रुख कटानको अनुमति पनि प्राप्त भएको छैन । लिमिटेडका सहायक निर्देशक कृष्णबहादुर पुनले रुख काट्न नम्बरिङ र छपानको कार्य सम्पन्न भएको बताए । ‘रुख कटानको अनुमति नै त पाइएको छैन,’ उनले भने, ‘तर, त्यसका लागि प्रक्रिया भने अगाडि बढाइएको छ । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र रुखहरूको नम्बरिङ तथा छपानको कार्य सम्पन्न भई प्रतिवेदन वन विभागमा पेस भएको थियो । विभागले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ ।’
सहायक निर्देशक पुनका अनुसार सुरुमा ९ सय बिघामा औद्योगिक क्षेत्र निर्माणको घोषणा भएकोमा अहिले क्षेत्र घटाइएको छ । ‘प्रारम्भिक डीपीआरमा ३ सय ८८ बिघामा बनाइने उल्लेख थियो,’ उनले भने, ‘शिलान्यासपछि २ सय ४० हेक्टर क्षेत्रफलमा बनाइने भनिएको औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर वन मन्त्रालयले १ सय ३७ हेक्टरमा बनाउन भनेको छ ।’ विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० अनुसार औद्योगिक क्षेत्रका लागि झण्डै ५५ हजार रुख काट्नुपर्ने देखिएको सहायक निर्देशक पुनले बताए ।


