धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का नाष्ट कलेजले प्रदेशमा प्राविधिक तथा व्यवस्थापन तर्फको जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। नाष्ट रिसर्च म्यानेजमेन्ट सेल धनगढीको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नयाँ प्रविधिको प्रयोग र आधुनिक व्यवस्थापन प्रणालीबारे धनगढीमा भइरहेको दुईदिने सम्मलेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्का नाष्टले प्राविधिक जनशक्ति र व्यवस्थापन तर्फको जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेका बताएका हुन्।
‘नाष्टलाई मैले सुदूरपश्चिममा प्राविधिक तथा व्यवस्थापन तर्फको जनशक्ति उत्पादन गर्ने शैक्षिक धरोहरको रुपमा लिएकोे छु’, मन्त्री खड्काले भने, ‘यसले यहाँका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने क्षेत्रमा ठुलो योगदान गरेको छ।’ टाइपराइटरबाट सुरु भएको शिक्षा अहिले नयाँ‐नयाँ प्रविधि आएको बताउँदै मन्त्री खड्काले समय र बजारमा माग भए अनुसारको शिक्षा आवश्यकता रहेको बताए। नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरी मुडभरीले प्रदेश सरकारलाई नीजि शैक्षिक क्षेत्र तिर पनि सरकारको लगानी हुनु पर्ने औंल्याए । ‘शिक्षा कहिल्यै नीजि र कहिल्यै किनबेच हुँदैन। त्यसैले प्रदेश सरकारलाई म के आग्रह गर्न चाहन्छु भने, नीजी क्षेत्रका स्कूल कलेजलाई पनि पुस्तक लगायत आवश्यक श्रोत साधनले सहयोग गर्न आवश्यक रहेको छ’, उनले भने।
प्रवन्ध निर्देशक मुडभरीले नाष्टबाट उत्पादन भएको जनशक्ति यहाँका हरेक वैंक तथा वित्तिय क्षेत्र र स्थानीय तहमा कार्यरत रहेको दाबी समेत गरे। उनले नाष्टबाट आइटीका १७७ जना, बीबीए तर्फ ३८२, सिभिल तर्फ ३०६, बीइ कम्प्युटर तर्फ २९९ जना र कक्षा १२ तर्फ ६ हजार बढी विद्यार्थी पासआउट भएर गएको जानकारी दिए।


