धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्र र सङ्घीयतालाई संस्थागत एवं बलियो बनाउनका लागि प्रदेश सरकारले जनताको विश्वास र भरोसा जित्ने गरी काम गरिरहेको बताएका छन् । शाहले प्राप्त अधिकार अनुसार जनताका चाहना पूरा गर्ने काम गरिरहेको उल्लेख गरे । नेपालमा गणतन्त्र र सङ्घीयता आएको धेरै भएको छैन अरू देशमा यसका लामा इतिहास छन् उनले भने, “नेपालकै सन्दर्भमा त प्रदेश तह नौलो संरचना हो जबकि अरू दुई तह सङ्घ र प्रदेश कुनै न कुनै रूपमा पहिलेदेखि नै सञ्चालनमा छन्, यस्तो अवस्थामा पनि हामीले जनताको हितमा काम गरिहेका छौँ ।”
सङ्घ र स्थानीय तहका सरकार र प्रतिनिधिसँग समन्वय गरेर अघि बढिरहेको दाबी गर्नुभएका मुख्यमन्त्री शाहले विकासका सन्दर्भमा तिनै तहका सरकार एकै ठाउँमा रहेको र विकासका कामलाई प्राथमिकता दिएर हिँडेको बताए । उनले निजामती, शिक्षा, प्रहरी जस्ता केही महत्वपूर्ण ऐन सङ्घ सरकारले पारित नगर्दा प्रदेश सरकारलाई सङ्घीयता कार्यान्वयनमा कठिनाइ भएको पनि उल्लेख गरे । मुख्यमन्त्री शाहले गणतन्त्र र सङ्घीयतालाई डगमगाउन नदिने गरेर तिनै तहका सरकारले काम गर्नुपर्नेमा पनि जोड दिए।
२०७४ सालको प्रदेश सभा निर्वाचनपछि पाँचै वर्ष मुख्यमन्त्री हुन सफल नेकपा (माओवादी केन्द्रका) नेता तथा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले गणतन्त्र र सङ्घीयतापछि सरकार नजिक आएको र जनताले आफ्नो आवश्यक्ता बारे सुनाउने ठाउँ पाएको बताउँदै, नागरिकका अपेक्षा क्रमशः पूरा हुँदै गएको दाबी गरे ।


