धनगढी । लामो समय नेकपा एमालेका राजनितिमा सक्रिय रहेका भक्त भण्डारी बझाङको समाजवादी नवौं जिल्ला अधिवेशनबाट उदाएका छन् । केदारस्युँ गाउँपालिका १ मा घर भएका भक्त केही बर्षयता राजनितीमा गुमनामजस्तै देखिएका थिए । एमाले निकट युवा संघको दुई कार्यकाल बझाङ नेतृत्व गरिसकेका भण्डारी नेकपा (एकीकृत समाजवादी) बझाङको नवौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
२०५७ सालमा राजनीतिमा औपचारिक प्रवेश गरेका भण्डारीले पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै अनुभव, दूरदृष्टि र कार्यशैली मार्फत आफूलाई कुशल नेताका रुपमा स्थापित गर्दै लगेका थिए । विगतमा एमाले बझाङको क्षेत्र नम्बर २ मा अध्यक्षको भूमिका सम्हालिसकेका उनले केही समय पार्टी गतिविधिबाट विश्राम लिएको भए पनि अब भने उनी समाज परिवर्तनको एजेण्डा बोकेर नयाँ जोशका साथ समाजवादको मैदानमा फर्किएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा चयन भएपछि भण्डारीले भने, “अब भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसंगतिविरुद्ध बझाङमा संघर्ष सुरु हुन्छ ।“ उनले बझाङमा बेरोजगारी, कच्ची सडक, विद्युत् र सञ्चारलगायतका पूर्वाधारमा देखिएको अव्यवस्था र ढिलासुस्तीको जिम्मेवारी भ्रष्टाचारपूर्ण योजना प्रणालीलाई दिएका छन् । र, अब यसविरुद्ध जनसहभागितामा आधारित अभियान छेड्ने प्रतिबद्धता जनाएका छन् । भण्डारीले भने, “विकासको मूल अवरोध भ्रष्टाचार हो । यो समाप्त नगरी समृद्धिको सपना पुरा हुँदैन । म जनताको प्रत्यक्ष साथमा अगाडि बढ्न चाहन्छु ।“
काठमाण्डौंस्थित नोबल एकेडेमीबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका भण्डारी शिक्षित, युवा, र क्रियाशील नेताका रुपमा चिनिन्छन् । ४३ वर्षअघि बुवा ईन्द्र बहादुर भण्डारी र आमा उजली देवी भण्डारीको कोखबाट जन्मिएका उनले अबको जीवन समाज सुधार, न्याय स्थापना र सुशासनमा अर्पण गर्ने बताएका छन् । पार्टीभित्र मात्रै नभई विपक्षी नेताहरूसँग समेत समन्वय र सहकार्य गर्दै समावेशी राजनीति र साझा विकासको पक्षमा आफू दृढ रहेको बताउँदै उनले भने, “सुधारका लागि सबैको योगदान आवश्यक हुन्छ, म अहंकार होइन, सहकार्यको राजनीति गर्छु ।“
एकीकृत समाजवादीको बझाङ जिल्ला अधिवेशनले अक्कल धामीको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन गरेको छ । जेठ १० गतेबाट केदारस्युँ गाउँपालिकाको झोतामा सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अधिवेशनले केदारस्युँ गणेश बोहरालाई उपाध्यक्ष पदमा चयन गरेको छ भने अर्को उपाध्यक्ष पदमा भक्त भण्डारी चयन भएका छन् । यस्तै अधिवेशनबाट सचिवमा लक्ष्मी जोशी, उपसचिवमा जोग कठायत र हरिस खड्का तथा महिला उपसचिवमा राधिका चित्रकारलाई चयन गरेको हो ।