धनगढी : नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागी जेठ १२ गते अर्थात भोलि मतदान हुँदै छ । जेठ ९ गते पोखरामा उद्घाटन भएको महाधिवेशनबाट सर्वसम्मतको प्रयास गरिए पनि सहमति नजुटेपछि भोलि चुनाव हुन लागेको हो ।
देशभरिबाट १ हजार ९०० प्रतिनिधि सहभागी भएका छन् । पार्टीले जनसंगठनका केन्द्रीय नेतृत्वलाई संख्यात्मक दृष्टिले छरितो बनाएपछि युवा संघको अबको केन्द्रीय कमिटी १५१ सदस्यीयमा सीमित हुँदैछ। त्यसभित्र जम्मा ९ पदाधिकारी चयन गर्नुपर्नेछ।
संघको अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा हालका सचिव इन्जिनियर विनय शाहले आकांक्षा राखेका छन्। सुदूरपश्चिमको धनगढीका ३५ वर्षीय शाह २०७९ चैत २७-२९ मा नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट सचिवमा सर्वसम्मत निर्वाचित भएका थिए। शाह सुदूरपश्चिममा युवापुस्ताको कमाण्डरको रुपमा परिचित छन्।
उनलाई हालको गठबन्धन सरकारका बेलासमेत सुदूरपश्चिमबाट राष्ट्रिय राजनीति र अन्य क्षेत्रमा न्यून प्रतिनिधित्व देखिएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत मुलधारमा ल्याउन खोजेको बताइएको छ। युवा पुस्ताको असल नेतृत्व गर्नसक्ने भन्दै उनलाई महासचिव बनाउन सुदूरपश्चिमबाट चर्को दबाब छ।उनले महासचिवमा दावी गरेपनि नेताहरूको सल्लाहमा उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
यस्तो छ शाहको राजनीतिक यात्रा
शाहले वि.सं. २०६० मा अनेरास्ववियुको सदस्यका रूपमा राजनीति सुरु गरेका थिए। त्यसबेला उनी पोखरा विश्वविद्यालयको अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म बनेका थिए। त्यसपछि एसिया स्टुडेन्ट्स एसोसिएसनको संयोजक, राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रदेश अध्यक्ष, विदेश विभाग प्रमुख हुँदै हालसम्म केन्द्रीय सचिव बनेका थिए।
शाहले नीति तथा दृष्टिकोणको रुपमा जनताको बहुदलीय जनवादलाई Gen G–Generation माझ प्रविधि–मैत्री मोड्युलद्वारा विस्तार गर्ने मान्यता राख्दछ्न् भने मार्क्सवादलाई अझै प्रगतिशील विज्ञानका आधारमा परिभाषित गर्ने नीतिलाई पक्षपोषण गर्दछन्।


