डोटी — २०६५ सालमा केन्द्रीय कार्यालय दिपायल रहने गरी स्थापना गरिएको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको पाँच करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । डोटीको मुख्य व्यापारिक केन्द्र पिपल्ला, दिपायल, सिलगढी र राजपुर बजारबाट सहकारीले प्रत्येक दिन बचत जम्मा गर्ने उद्देश्यले व्यापारीहरूसँग रकम उठाउने गरेको थियो ।
पिपल्ला बजारमा होटल व्यवसाय गर्दै आएका चेतबहादुर खड्काले श्रीमती र आफ्ना नाममा गरी दुई खातामा ६ लाख ६४ हजार ६ सय ९९ रुपैयाँ जम्मा गरेका थिए । छोरा संस्कार खड्काको नाममा ४ लाख १२ हजार ९ सय १० रुपैयाँको मुद्दती खाता खोलेका थिए । छोरालाई पढाउनका लागि बचत गरिएको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । सहकारीको कार्यालय दुई वर्षदेखि बन्द छ । ुदुई पैसा बचत होला भनेर आफूले खाइ नखाई गरेर सहकारीमा जम्मा गर्यो । ब्याज त परको कुरा हो, सावा पनि दिइएन, खड्काले भने, सहकारीका पदाधिकारीलाई पटक–पटक जानकारी गराउँदा पनि सुन्दैनन् ।
स्थानीय व्यापारी सर्वजित देउवाले करिब सात लाख रुपैयाँ हिमशिखर सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएको बताएका छन् । ुदिनभरि व्यापार गरेर सानोसानो रकम जम्मा गर्यो, तर अहिले घर न घाटको भयो, उनले भने । त्यस्तै, सुजङ अस्पतालले पनि हिमशिखरमा १४ लाख रुपैयाँ बचत गरेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । उक्त सहकारीमा स्थानीय ५ सय ४ जना व्यापारी तथा सर्वसाधारणले बचत गर्दै आएका थिए ।
सहकारीले १ सय १२ जनालाई ऋण स्वरूप ३ करोड ९९ लाख ६८ हजार ८ सय ३५ रुपैयाँ लगानी गरेको छ भने पाँच करोड २३ लाख आठ सय ६१ रुपैयाँ बचतकर्तालाई फिर्ता गर्नुपर्ने सहकारीका अध्यक्ष धनबहादुर शाहीले बताए । हाल सहकारीको आठ वटा बैंक खातामा जम्मा १ लाख ८४ हजार ३ सय ३८ रुपैयाँ मात्रै बचत रहेको जानकारी पनि उनले दिएका छन् । अध्यक्ष शाहीका अनुसार, बजारमा न्यूनतम १ लाखदेखि बढीमा १३ लाखसम्मको ऋण उपलब्ध गराइएको थियो । धेरैले फिर्ता नगर्दा सहकारी अहिले यो अवस्थामा पुगेको हो ।
हिमशिखर सहकारीका पूर्व कार्यालय प्रमुख दीपक साउदले आफ्नो नाममा दुई करोड १८ लाख रुपैयाँ हिनामिना गरेको आरोप अध्यक्ष शाहीले लगाए । यो पैसाको के कति काममा प्रयोग गर्नुभयो भन्नेबारे हिसाब दिन १० दिनको म्याद दिइएको थियो । तीन महिना पुग्दासमेत कुनै किसिमको हिसाब दिइएको छैन । बुझ्न खोज्दा पनि आलटाल गर्न थालिएको छ, उनले भने । लगानी गरिएको ऋण उठाएपछि बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गरिने दाबी अध्यक्ष शाहीले गरेका छन् । बचत फिर्ता नदिएपछि सहकारीको कार्यालयमा दुई वर्षदेखि ताला लगाइएको छ ।कान्तिपुरबाट