धनगढी । कैलालीमा फेसबुकमा अध्यक्ष विरुद्ध स्ट्याटस लेख्ने कार्यालय सहयोगीलाई हटाइएको छ । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अपमानजनक टिप्पणी गरेको भन्दै कार्यालय सहयोगी अशोक थापालाई जागिरबाटै हटाइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालले गाउँपालिका अध्यक्ष उपाध्यायविरुद्ध फेसबुकमा अपमानजनक शब्द प्रयोग गर्दै टिप्पणी गरेपछि स्पष्टीकरण सोधिएको भए पनि त्यसको जवाफ नदिइएपछि जागिरबाट हटाइएको बताए ।
उनका अनुसार कार्यालय सहयोगी थापाले वैशाख २४ गते अध्यक्ष उपाध्यायलाई लक्षित गरी अत्यन्तै अपमानजनक स्ट्याटस लेखेका थिए । त्यसपछि वैशाख ३० गते स्पष्टीकरण सोधिएको भए पनि जवाफ नदिइएपछि हटाइएको प्रमुख प्रशासकीय अधिकृत बरालले बताए ।