धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री छनोटलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र विवाद उत्पन्न भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशमलाल चौधरीबीच टकराबको स्थिति सिर्जना भएपछि मन्त्री छनोटमा सकस देखिएको हो ।
नाउपाको भागमा परेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि पार्टी अध्यक्ष श्रेष्ठले आफू निकट कैलाश चौधरीको नाम सिफारिस गरेकी थिइन् । तर उनको त्यो सिफारिस पार्टी संरक्षक पक्षले नमानेपछि नाउपा संसदीय दलको कार्यालयले दलको नेता समेत रहेका घनश्याम चौधरीको नाम बुधबार राति मन्त्रीको लागि सिफारिस गर्ने निर्णय गर्याे । तर घनश्याम चौधरी मन्त्री बन्नबाट एकाएक पछाडि हटेपछि पूर्वमन्त्री समेत रहेका रामेश्वर चौधरीको नाम सिफारिस गरिएको खुल्नमा आएको छ ।
नाउपा स्रोतका अनुसार दलका नेता समेत रहेका घनश्याम चौधरीले आफू दलको नेता र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति समेत रहेकोले मन्त्री बन्न नहुने भन्दै पछाडि सरेका हुन् । उनी पछाडि सरेपछि मन्त्रीको लागि रामेश्वर चौधरीलाई अगाडि सारिएको हो । संसदीय दलको कार्यालयले रामेश्वर चौधरीको नाम मन्त्रीको लागि सिफारिस गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री कार्यालयलाई पनि पत्रचार गर्ने तयारी गरिएको स्रोतको भनाइ छ ।
रामेश्वर चौधरीले आफूलाई मन्त्री सिफारिस गरिएको संसदीय दलको पत्र प्राप्त गरिसकेको पुष्टि गरेका छन् । तर यो रिपोर्ट तयार पर्दासम्म नाउपा संसदीय दलको पत्र नपुगेको मुख्यमन्त्री कमल बहादुर शाहको सचिवालयले जनाएको छ । बैशाख ३० गते बसेको नाउपा संसदीय दलको बैठकले मन्त्रीको लागि केन्द्रीय समितिसँग रायसहितको सिफारिस माग गर्ने निर्णय गरी पत्रचार गरेको थियो ।
सोही पत्रको जवाफमा बैशाख ३१ गते पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीको नाम सिफारिस गरी संसदीय दललाई पठाएकी थिइन् । तर पार्टी अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउनको लागि पठाएको निर्देशनात्मक सिफारिस पत्रले तीब्र मतभेद सिर्जना गरेको हो । नाउपाभित्र कैलाश चौधरी पार्टी अध्यक्ष श्रेष्ठ निकट मानिन्छन् ।
सुदूरपश्चिम सरकारमा नाउपाको भागमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय परेको छ । विवादित अडियो प्रकरणमा नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले चैत्र १६ गते राजीनामा दिएका थिए । उनको राजीनामा दिएको डेढ महिनासम्म पनि नाउपाले अर्को मन्त्री पठाउन सकेको थिएन ।अक्षरल्याबबाट