बैतडी– बैतडीको मेलौलीमा वृहत स्वराड सांस्कृतिक महोत्सव तथा व्यापार मेला सञ्चालन हुने भएको छ । यही जेठ १ गतेदेखी मेलौलीमा सांस्कृतिक महोत्सव आयोजना हुने भएको हो । महोत्सवलाई मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपलिकाको मुख्य प्रर्वद्धनमा पर्यटन विकास मञ्चले आयोजना गर्ने भएको छ । जेठ १ गतेदेखी १२ गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सवका संयोजक सागर भण्डारी (सोराडी) ले बताए । उनका अनुसार स्थानीय उत्पादनको बजारीकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सवको मुख्य प्रायोजकमा क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभीसी रहेको उनले बताए । महोत्सवका माध्यमबाट उक्त क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार हुने विश्वास लिइएको भण्डारीले बताए । महोत्सवमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताईएको छ ।