टीकापुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशविरूद्व माओवादीसहितका दलहरू खडा भएका कारण समस्या हल हुन नसकेको दाबी गरेका छन् िमंगलबारदेखि टीकापुरमा सुरू भएको भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा भूमिहीनको पक्षमा चर्का कुरा गर्ने तर समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिएको बताए ।
“माओवादी अध्यक्ष संसदमा भूमिहीन सुकुम्बासीको पक्षमा चर्का कुरा गर्नुहुन्छ तर भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याउँदा विरोध गरे,” उनले भने, “माओवादी, एकीकृत समाजवादी पार्टी र मधेशवादी दलहरू त्यसविरुद्ध खडा भएका कारण समस्या समाधान हुन सकेन ।” उनले अध्यादेश जारी भएको भए भूमिहीन समस्याको समाधान प्रक्रियामा गइसक्ने दाबी गरेका छन् । तर अब भने प्रक्रिया नराकिने बताए ।”अब यो प्रक्रिया कसैले रोकेर पनि रोकिने छैन,” उनले बताए, “छिट्टै भूमिहीनहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन्।”
पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गठन भएको भूमि आयोगलाई अदालतमा मुद्दा हालेर काम गर्न नदिएको पनि बताए। उनले अब एमालेकै सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने दाबी गरेका छन् ।