धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्टेको छनोटमा परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिले सोमबार एक कार्यक्रमको बीच भादा होमस्टेलाई उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशीले पुरस्कृत गरेको छ ।
तारा गाउँ विकास समितिले नेपालभरकै होमस्टेलाई केही समय अगाडि पुरस्कारको लागि आवेदन आह्वान गरेको थियो । सोही आवेदनको आधारमा भादालाई उत्कृष्ट होमस्टेको रुपमा छनोट गरेको होमस्टे महासंघ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले जानकारी दिए ।
भादामा आयोजित सुदूरपश्चिम प्रदेशगत होमस्टे कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । सो गोष्ठीको समापन कार्यक्रमको अवसरमा समितिका अध्यक्ष सुरेशराज जोशी तथा कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीमार्फत पुरस्कार हस्तान्तरण गरिएको थियो ।
बर्दियाको डल्ला स्टे दोस्रो स्थान हासिल गरेको छ । डल्ला होमस्टेलाई जैविकमार्ग होमस्टेको रुपमा ७५ हजार धनराधीले पुरस्कृत गरिएको छ । भने, काठमाडौको हाँडि गाउँ होमस्टे तेस्रो स्थान हासिल गरेको छ । हाडि गाउँ होमस्टेलाई ५० हजार धनराशीसहित पुरस्कृत गरिएको छ ।