बैतडी: तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा आउन थालेपछि अहिले कुवाको तथ्याङ्क छैन । कुवा पँधेरा छाडेर धारामा आइपुग्दा मुहान सुक्न थालेपछि जिल्लाभरि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको छ ।
गाउँपालिकामा भएका धाराको मुहान सुकेपछि शिवनाथ गाउँपालिका सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । गाउँ गाउँमा सडक निर्माण हुँदा अधिकांश कुवा मासिएका छन् । भएका सबै मुहान सुकेपछि महाली नदीबाट पानी तान्न ४० करोड रुपियाँको लिफ्ट खानेपानी योजनाको अध्ययन भइरहेको छ । यति ठुलो योजना गाउँपालिका र प्रदेश सरकारले बनाउन नसक्ने भएपछि सङ्घीय सरकारसँग योजना माग गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । जलवायु परिवर्तन, डोजरले सडक निर्माण र सल्लाको वन बढेकाले पानीको सङ्कट चुलिएको छ ।


