कञ्चनपुर: कञ्चनपुरमा झन्डै एक सय सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य पूरा गरेका छन् । २५६ सामुदायिक विद्यालय रहेका कञ्चनपुरमा हाल ९० वटा सामुदायिक विद्यालयले मात्र विद्यार्थी भर्ना गरेका छन् । कृष्णपुर नगरपालिकाका ३२ सामुदायिक विद्यालय, भीमदत्त नगरपालिकाका ५७ सामुदायिक विद्यालय र दोधाराचाँदनी नगरपालिकाको एक सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गरेका छन् । कञ्चनपुरस्थित अन्य सामुदायिक विद्यालयले भने सूचना नै निकालेर विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शिक्षक आन्दोलित बनेपछि विद्यार्थी भर्ना कार्य प्रभावित बनेको हो ।
भीमदत्त नगरपालिकामा रहेका ५७ सामुदायिक विद्यालय र ६८ निजी विद्यालयले विद्यार्थी भर्ना अभियान सकेर पठनपाठनको कार्य अगाडि बढाएका छन् । भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले पालिकास्थित सामुदायिक विद्यालयमा अभियानकै रूपमा नभए पनि आएका विद्यार्थीको भर्ना भइरहेको जानकारी दिए । जोशीले भीमदत्तमा अधिकांश सामुदायिक विद्यालयमा भर्ना सकिएर पठनपाठनको कार्य पनि अगाडि बढाइएको जानकारी दिए । कक्षा ८ को ग्रेड वृद्धिको परीक्षा भने सञ्चालन हुन नसकेको उनले बताए । अबको केही दिनमै सूचना निकालेर परीक्षा सञ्चालनका विषयमा छलफल भइरहेको उनले बताए । कृष्णपुरका ३२ वटै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान पूरा भएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए ।
कृष्णपुर नगरपालिकाका नगरप्रमुख स्वयम् विद्यार्थी भर्ना अभियानमा सरिक हुनुभएको थियो । शिक्षकको आन्दोलनबिच पनि कृष्णपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका थिए । विद्यार्थीको पठनपाठन क्रियाकलापमा असहज नहोस् भन्नका निमित्त कृष्णपुरमा भर्ना अभियान सकिएर पठनपाठन सुरु गरिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए ।
२४ सामुदायिक विद्यालय रहेका दोधाराचाँदनी नगरपालिकाका हालसम्म एक सामुदायिक विद्यालयले विद्यार्थी भर्ना थालेको नगरपालिकाका सूचना अधिकारी सुरेशसिंह साउदले जानकारी दिए । कञ्चनपुरस्थित सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सुरु नै नगरिँदा विद्यार्थीको भविष्य अन्योलमा पर्ने भन्दै अभिभावक चिन्तित बनेका छन् । ३२ सामुदायिक विद्यालय रहेका पुनर्बास नगरपालिकामा पनि विद्यार्थी भर्ना नै सुरु भएको छैन तर ३१ वटै संस्थागत विद्यालयमा भने विद्यार्थी भर्ना सुरु भएर पठनपाठन पनि सञ्चालन भएको नगरपालिकाको शिक्षा शाखा सहायक भक्तबहादुर रोकायाले बताए ।
बेलौरी नगरपालिकामा पनि संस्थागत विद्यालयले धमाधम पठनपाठन सुरु गर्दा सामुदायिक विद्यालयले भने विद्यार्थी भर्ना नै गराएका छैनन् । बेलौरी नगरपालिकामा ३१ सामुदायिक विद्यालय रहेका छन् भने २० निजी विद्यालय रहेका छन् । निजी विद्यालयमा पठनपाठन सुरु भइसक्दा सामुदायिक विद्यालयले भने विद्यार्थी भर्ना नै नगरेको बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टले बताए ।
आठ संस्थागत र १६ सामुदायिक विद्यालय रहेको लालझाँडी गाउँपालिकास्थित सामुदायिक विद्यालयमा पनि विद्यार्थी भर्ना अन्योलमा रहेको छ । १४ सामुदायिक र १२ संस्थागत विद्यालय रहेका बेलडाँडी गाउँपालिकामा संस्थागत विद्यालयमा भने पठनपाठन अगाडि बढेको छ । बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले निजी विद्यालयमा भर्ना अभियान सकिएर पठनपाठनको कार्य अगाडि बढाइएको बताए । तर सो गाउँपालिकाका सामुदायिक विद्यालयमा भने विद्यार्थी भर्नासमेत सुरु नभएको उनले बताए । उनले कक्षा आठको ग्रेड वृद्धि परीक्षासमेत सञ्चालन हुन नसकेको बताए ।
शुक्लाफाँटा नगरपालिकामा पनि शैक्षिक गतिविधि ठप्प रहेका छन् । शिक्षक आन्दोलनमा रहँदा विद्यार्थी भर्ना अभियान प्रभावित बनेको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद भट्टले बताए । पालिकामा २७ निजी र २८ सामुदायिक विद्यालय रहेका छन् । सो नगरपालिकामा निजी विद्यालयले विद्यार्थी भर्ना सकेर पठनपाठन सुरु गरेका हुन् । शिक्षक आन्दोलनमा भएकाले वार्ता नहुन्जेल बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा पनि विद्यार्थी भर्ना अभियान हुन सकेको छैन ।
सुनसान बन्दै विद्यालय
बाजुरा समाचारदाताका अनुसार बाजुरामा पनि भर्ना अभियान सुरु हुन सकेको छैन । बाजुरामा ६१२ विद्यालय रहेका छन् । यी विद्यालयमा विद्यार्थी भर्नाको कुनै सुरसार छैन । त्यसले गर्दा विद्यार्थी र अभिभावक अन्योलमा रहेका छन् । विद्यार्थी विद्यालयको भर्नाको पर्खाइमा छन् । यद्यपि विद्यालयमा किताब पुगिसकेका छन् तर विद्यार्थी भर्ना नएका कारण किताब वितरण गरिएको छैन । शिक्षक आन्दोलन रोकिएपछि मात्र यहाँका सबै विद्यालय नयाँ भर्ना सुरु गर्ने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले बताए ।
जुगाडा समाचारदाताका अनुसार बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–३, रजालीस्थित चोयाकोट माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक सङ्घको संयुक्त पहलमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण सुरु भएको छ । काठमाडौँका सडकमा देशभरका शिक्षकले आन्दोलन गरिरहेका बेला टाढाको पहाडी गाउँमा पढाइ नछुटोस् भनेर यो पहल थालिएको विद्यालयका अध्यक्ष कृष्णबहादुर खड्काले बताए । “आन्दोलन जायज होला तर बालबालिकाले शिक्षा नपाउनु अन्याय हो । त्यसैले हामीले भर्ना र पुस्तक वितरणको कार्य सुरु गरेका हौँ” उनले भने।
विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले आफूहरू आन्दोलनमा सहभागी रहेको तर विद्यालय व्यवस्थापन समितिले लिएको वैकल्पिक उपायमा कुनै आपत्ति नभएको बताएका छन् । बाजुराका ६१२ वटा विद्यालयमध्ये चोयाकोट माध्यमिक विद्यालयले मात्र भर्ना अभियान र पाठ्यपुस्तक अभियान सञ्चालन गरेको छ ।
गोरखापत्रबाट


