धनगढी: शैक्षिक गतिविधि ठप्प पार्दै शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सुदूरपश्चिमका सामुदायिक विद्यालयहरूले सुरु नहुँदै भर्ना अभियान स्थगित गरेका छन् । २० चैतदेखि आन्दोलनमा रहेका शिक्षक र सरकारबीच सहमति हुन नसक्दा मंगलबारदेखि सुरु हुने भनिएको विद्यार्थी भर्ना अभियान अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रदेशका सामुदायिक विद्यालयहरूले सूचना जारी गर्दै धमाधम भर्ना अभियान स्थगित भएको जानकारी दिएका छन् ।
कैलालीको धनगढीमा रहेको शारदा माविले सूचना जारी गर्दै नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल घोषणा गरेको जानकारी दिँदै विद्यार्थी भर्ना अभियानलगायतका सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक गणेश मिश्रले शैक्षिक हड्ताल सकिएपछि मात्रै शैक्षिक गतिविधि सुरु हुने जानकारी दिए ।
धनगढीमै रहेको त्रिभुवन माविले विद्यालय पूर्ण रूपमा बन्द रहेको जानकारी दिँदै शिक्षक र कर्मचारीलाई काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थीले नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल घोषणा गरेको हुँदा विद्यालय बन्द गरेको जानकारी सूचनामार्फत दिएका छन् ।
उता डडेल्धुराको सहश्रलिङ्ग मावि अजयमेरुले पनि शैक्षिक गतिविधि ठप्प भएको सूचना जारी गरेको छ । ‘शिक्षक महासंघको आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विषम परिस्थितिले गर्दा विद्यालयको पूर्वनिर्धारित भर्नालगायतका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ ।
कञ्चनपुरको भृकुटी माविका प्रधानाध्यापक केशरसिंह महराले सूचना जारी गर्दै शिक्षक आन्दोलनमा उठाइएका माग पूरा नहुँदासम्म सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गरिएको बताएका छन् । सरकारले भने शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला मन्त्रालयमार्फत भर्ना अभियान सञ्चालन गर्न परिपत्र गरेको थियो । शिक्षकहरू भने तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २० चैतदेखि आन्दोलनमा छन् । काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी नभएका शिक्षकहरूलाई कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन शिक्षक महासंघले चेतावनी दिएको छ ।