दार्चुला — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका सुनिल डागा विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा डागाले नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी संयुक्त उम्मेदवारलाई पराजित गरी स्ववियु सभापतिमा विजयी भएका हुन् । डागाले कुल खसेको दुई सय ३० मतमध्ये एक सय ५ मत ल्याई सभापति निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त प्यानलका नरेश विष्टले एक सय २ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दिनेशराज पन्तले ११ मत प्राप्त गरेको निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले बताए ।
त्यस्तै, सचिवमा संयुक्त प्यानलका नवराज भट्ट एक सय २५ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका विमला जोशी ९४ मत प्राप्त गरेकी छन् । कोषाध्यक्षमा संयुक्त उम्मेदवार र अनेरास्ववियुका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि गोला प्रथाबाट संयुक्त प्यानलका अम्मरा धामी छनोट भएकी छिन् । दुवै उम्मेदवारले एक सय ८ मत ल्याएका थिए ।