धनगढी । धनगढी उपमहानगरपालिकाको विकासमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
उनीहरूले धनगढी उपमहानगरपालिकाको राम्रो पक्षलाई उजागर गर्ने र नराम्रो पक्ष सच्याउनका लागि मिडियाले खबरदारी गर्ने कार्य गरिरहेको बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव हेमकर्ण विकले भौतिक पूर्वाधार निर्माणमामात्रै नभई शिक्षा, स्वास्थ्य लगायत मानवीय पक्षस्रँग जोडिएको विकासमा ध्यान दिन धनगढी उपमहानगरपालिकालाई आग्रह गरे ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले भौतिक र मानवीय विकासका लागि धनगढी उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । धनगढीमा विकासले गति लिएको उल्लेख गदै उनले कुनै पनि विकासको काम र योजना नजिक वा पहुँचको भरमा नदिएको दावी गरे ।
यस्तै, धनगढी उपमहानगरपालिका–६ का वडा अध्यक्ष भागीराम चौधरीले धनगढी उपमहानगरपालिकाका वडाहरूले प्राथमिकता र आवश्यकताको आधारमा काम गरिरहेको बताए । धनगढीको विकासका लागि आफूहरू एकदमै लागि परेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले धनगढीभित्र सरसफाइमा उल्लेखनीय सुधार भएको बताए । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष भुवन रिजाल, कार्यपालिका सदस्य निशा आउजी लगायतले आफ्नो भनाई राखेका थिए ।