धनगढी – धनगढी उपमहानगरपालिका फुलमा आत्मनिर्भर बनेको छ । गत बर्षदेखि उपमहानगरले धनगढीलाई फूलमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरेको र उक्त अभियान अन्तर्गत कृषकलाई तालिम दिएर उपमहानगरले आफ्नो लक्ष्य पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताएका छन्। उपमहानगरपालिकाले धनगढी क्षेत्रभित्र रहेका पुष्प व्यवसायी कृषकलाई दुई चरणमा फूलको बुक बनाउने साथै गाडीमा र अन्य शुभ कार्यमा सजावट गर्ने तालिम दिएको हो।
यस्तै कृषकको सहजताका लागि धनगढी उपमहानगरले फूलका लागि चिस्यान केन्द्र पनि बनाएको र त्यसको बिजुली र कर्मचारीको खर्च पनि उपमहानगर स्वयंले बेहोरिरहेको उनले बताएका छन्। नगर प्रमुख हमालले भने, “हामी फूलमा आत्मनिर्भर मात्रै छैनौँ कि हाम्रो फूल उत्पादन खपतभन्दा बढी भएकोले हामीले त्यो फूललाई काठमाडौँ पठाइरहेका छौं।” नगर प्रमुख हमालले यतिबेला धनगढी कृषकले उत्पादन गरेका फूल प्रयोग गरेर सहयोग गरिदिनका लागि आग्रह समेत गरेका छन्।
यस्तै गत बर्ष कृषकले उत्पादन गरेको फूल खपतभन्दा बढी भएकाले व्यवस्थापनमा समस्या पर्न गएकाले किसानलाई फुसफुक व्यवसायबाट निराशा हुन नपरोस् भनेर उपमहानगरले किसानको फूल खरिद गरिदिएको उनले बताएका छन्। उपमहानगर क्षेत्रका कृषकले उत्पादन गरेको फूल काठमाडौँ पढाउँदा हवाईजहाजको भाडा प्रति केजी २ सय पर्न जाने भएकाले उपमहानगरले एयरलाइन्ससँग समन्वय गरेर किसानको सहजताका लागि अहिले ९० रुपैयाँ प्रति केजीका दरले हवाईजहाज मार्फत फूल काठमाडौँ पठाइरहेको नगरप्रमुख हमालले बताएका छन्। नगर प्रमुख हमालले भने, “एयरलाइन्स प्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र त्यो ९० मा पनि हामीले के गरेका छौं भने ५० रुपैयाँ धनगढी उपमहानगरले भाडामा अनुदान दिइरहेको र ४० रूपैयाँ सम्बन्धित किसानले व्यहोरिरहेका छन्।”
उनले थप्दै भने, “अब भारतबाट फूल मगाउनुपर्ने, कागजको फुल बनाउनुपर्ने, कपडाको फूल बनाउनुपर्ने आवश्यकता छैन। म के आग्रह गर्दछु भने कसैले पनि कागजको फूल प्रयोग नगर्नुस् र बेच्नेले पनि नबेचिदिनुस्। बरु हाम्रै किसानबाट लिनुस् थोक मूल्यमा लिएर खुद्रा मूल्यमा बेच्दा तपाईँलाई पनि फाइदा हुन्छ।” व्यवसायी र आम नागरिकले धनगढी क्षेत्रका नागरिकबाट फूल खरिद गरेर यहाँको फूल व्यवसायलाई स्थापित गर्नका लागि सहयोग गरिदिनु हुन पनि नगर प्रमुख हमालले आग्रह गरेका छन्।