धनगढी: सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सीमा सुरक्षा बलको बिचमा बैठान भएको छ। भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लामा संयुक्त मासिक बैठक भएको हो। भारतीय सशस्त्र सीमा बल (एसएसबी) नम्बर ३ बटालियन परिसरमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर, कैलाली र भारतीय सशस्त्र सीमा बल (एसएसबी) नम्बर ३ बटालियनको बिच मासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ।
नेपालको तर्फबाट कैलाली जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा सशस्त्र प्रहरी बलका अधिकारीहरूको सहभागिता रहेको थियो। भारतको तर्फबाट भारतीय सशस्त्र सीमा बल, नम्बर ३ बटालियन लखिमपुर खिरीका कमाण्डेण्ट देवानन्दको कमाण्डमा सात जना अधिकारीको टोली रहेको थियो।
सो बैठकमा दुई सुरक्षा निकाय बिचको सुमधुर सम्बन्ध, सूचना आदान प्रदान, सीमा इलाकामा संयुक्त गस्ती, सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप, अवध रूपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, हातहतियार ओसारपसार, लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने लगायतमा विषयमा छलफल भएको छ। तिहार तथा छठ पर्व लगायतका चाडबाडमा भारतबाट ठुलो सङ्ख्यामा नेपालीहरू स्वदेश आउने र सीमा क्षेत्रमा नेपाली नागरिकहरू लुटिने घटना विगतमा भएका छन। यस्ता घटना नियन्त्रणका लागि दुबै देशका सुरक्षाकर्मीबाट सहजीकरण गरिदिने, सीमामा हुने विदेशी घुसपैठ तथा अपराध रोकथाम लगायतका विषयमा छलफल भएको हो।

