धनगढी । कैलालीमा गोठालो गएका बेला सम्पर्कविहीन भएका दुई जना किशोरी सकुशल भेटिएका छन् । भजनी नगरपालिका–९ को गन्जवाका १३ वर्षीया सन्जु सार्की र १४वर्षीया आरती बिक मंगलबार गोठालो गएका बेला जंगलबाट सम्पर्कविहीन भएका थिए । तर बुधबार बिहान भने दुवै जना सकुशल भेटिएको प्रहरीले जनाएको छ । बिहान बाख्रा चराउन स्थानीय सरस्वती सामुदायिक वन गएका दुवै जना साँझ ८ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर बिष्टले स्थानीयको सहयोगमा रातभर जंगल क्षेत्रमा खोजी गर्दा समेत नभेटिएका दुवै किशोरी बुधबार बिहान सकुशल भेटिएको जानकारी दिए । उनकाअनुसार ५० जना स्थानीयको सहयोगमा राति प्रहरीले जंगलमा खोजी गरेको थियो तर फेला पार्न नसकेपछि बुधबार बिहानैदेखि फेरी खोजी गर्न थालिएको थियो । खोज्न स्थानीय र प्रहरी जंगलतर्फ गइरहेका बेला बुधबार ८ बजे दुवै जना घरतर्फ आइरहेको अवस्थामा भेटिएको एसपी बिष्टले बताए ।
उनीहरुले जंगलमा बाख्रा हराएपछि बाख्रा खोज्दाखोज्दै राति परेपछि घर फर्किन नसकेको प्रहरीलाई बताएका छन् । दुवै जना रातभर रुखको ओत लागेर जंगलमा सुतेका थिए । प्रहरीकाअनुसार उनीहरुले चराउन लगेका बाख्रा समेत जंगलबाट दुई समूहमा बाडिएर अबेर साँझ मात्र घर फर्किएका थिए ।