धनगढी: सुदूरपश्चिम सरकारले विनियोजन गरेको बजेटको छानबिन गर्न माग गरिएको छ । प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभा सदस्य शिव सिंह ओलीले अहिलेको बजेटका योजना बिचौलियाबाट आएकाले संसदीय समिति गठन गरी छानबिन गर्न आग्रह गरेका हुन ।
सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलका लागि आइतबार बिहान बोलाइएको बैठकमा बोल्दै उनले सरकारले बिचौलिया खोज्न चाहे आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘मेरै निर्वाचन क्षेत्रमा योजना हेर्ने हो भने योजना गएका छन् । जनता अनविज्ञ छन् । सांसद अनविज्ञ छन् । तर पनि योजना परेको छ’ उनले भने ‘यी योजना कसरी परे भनेर तपाईँहरूले अध्ययन अनुसन्धान गर्नुहुन्छ भने यी यी योजना बिचौलियाबाट आएका हुन भनेर भन्ने हेक्का हामी सँग छ । यसको छानबिनका लागि संसदीय समिति बनाऔँ ।’ उनले प्रक्रिया भन्दा बाहिरबाट आएका योजना कसरी आए भन्ने बारेमा मन्त्रीहरूलाई थाहा भएको बताए । राजनीति संलग्नता बिना यसरी योजना आउन सम्भव नभएको उनको दाबी छ ।


