धनगढी: कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार खुँडा प्रहार गरी घाइते बनाएको छ । हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवा घाइते छन् । दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्यांकर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको बताए । ‘दुई जनालाई राति नियन्त्रणमा लिएका छौं । आज सोधपुछ गर्छौं अनि घटनाको कारण डिटेलमा खुल्ला,’ एसपी विष्टले भने । घटनामा केही ट्यांकरहरुमा पनि तोडफोड गरेको छ । आक्रमणबाट ट्यांकरको अघिल्लो भागको सिसा फुटेको छ ।
प्रहरीकै अगाडी ट्यांकर चालकमाथी खुँडा प्रहार भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिमले आपत्ति जनाएको छ । धनगढीको मिलनचोक स्थित ट्यांकर पार्किङ गरेकै ठाउँमा गएर भएको घटनाप्रती दुख ब्यक्त गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथी कडा कार्वाही हुनुपर्ने सगंठनले माग राखेको छ । सगंठनका प्रदेश अध्यक्ष ललित दन्दद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ “कैलाली जिल्लाको धनगढी उपमहानगर वहा नम्बर ३ स्थित भन्सार कार्यालय नजिकै मिलन चोकमा रहेको इन्धन ढुवानी गर्ने टेंकर पार्किङ स्थलमा शनिबार राती साढे ११ बजे अज्ञात समुहको आक्रमणमा परि टेंकर चालक हरी देउवा र सहचालक अनिल देउवामाथि साङ्घातिक हमला गरि गम्भिर घाइते बनाएको घटनाप्रति घोर आपत्ति र भत्सर्ना गर्दछु ।
टेंकर पार्किङ गरि आफ्नै टेंकरमा सुतिरहेको अवस्थामा हातहतियार सहितका करिव ३ दर्जन उदण्ड युवाहरुको जमात टेंकर पार्किङ स्थलभीत्रै प्रवेश गरि देउवा दुवैजनामामाथि अन्धाधुन्ध आक्रमण गरि गम्भिर घाइते बनाइनुका साथै अन्य टेंकरहरुमा समेत क्षति पु¥याएकोछ । घाइते चालक र सहचालकको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ उनिहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेकोछ । प्रहरीको पोष्ट नजिकै भएको उक्त उदण्ड घटनाले समाजमा श्रमिकहरुमाथि कति असुरक्षा भन्ने प्रष्ट्याएकोछ । घटनामा संलग्न जोकोही भएपनि तत्काल कानुनी दायरामा ल्याइ कडा कारबाही गर्न र घाइते श्रमिकहरुको तत्काल उपचारको प्रवन्ध गर्न जोडदार माग गर्दछौं । र समाजमा हुने यस्ता अपराधी क्रियाकलापहरु अन्त्य गर्दै श्रमिकहरुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाइदिनुहुन अपिल गर्दछौँ ।”