धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमका महामन्त्री पारस बाहुनलाई पदबाट बर्खास्त गरेको छ । प्रदेश सभापति प्रकाश विष्टले महामन्त्री पारसलाई पदमुक्त गरेका हुन् । पारस गत पुसमा सुदूरपश्चिमको महामन्त्रीमा मनोनीत भएका थिए । पार्टी संगठन र नेतृत्वलाई असहज र असफल बनाउने क्रियाकलाप गरेको आरोपमा हटाइएको विष्टले पारसलाई पठाइएको पत्रमा उल्लेख गरेका छन् ।
‘यहाँले पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज/असफल बनाउने विविधि क्रियाकलापहरु गर्नुभएको हुँदा जिम्मेजारीबाट मुक्त गरिएको जानकारी गराउँदछु’, पारसलाई पठाइएको पत्रमा भनिएको छ । सभापति विष्ट र आफूबीच मतभेद रहेको जानकारी गराउँदै पारसले सभापतिले पत्र पठाएपनि प्रदेश समिति र केन्द्रले निर्णय रोक्नसक्ने बताए । पारसलाई स्पष्टीकरण सोधिएको र जवाफ सन्तोषजनक नभएकाले पदबाट हटाइएको पत्रमा उल्लेख छ ।