धनगढी: यो संसार सम्बन्धहरूमै अडेको छ । त्यसैले भनिन्छ– ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गो। त्यत्तिकैमहत्वपूर्ण र सान्निध्यपूर्ण मानिन्छ श्रीमान् र श्रीमतीको सम्बन्ध । तर यस्तो गहन सम्बन्धमा पनि सङ्कट उत्पन्न भइदिन्छ । अनि अनेकौँ कारणले टुट्न पुग्छ । सम्बन्धहरु तोडिनुभन्दा जोडिनु नै धेरै राम्रो कुरा हो । एउटा महिला र पुरुषको विवाह हुनु भनेको ती एक महिला र एक पुरुषको सम्बन्ध जोडिनुमात्र होइन, त्यहाँ त परिवार–परिवारको सम्बन्ध पनि जोडिन्छ । कहिले कहिले त यस्तो विवाहले राष्ट्र–राष्ट्रबीचनै सम्बन्ध जोडिन्छ । सीता र रामको विवाहले नेपाल र भारतको सम्बन्धमा प्रगाढता ल्याएको थियो र छ । त्यस्तै भृकुटी र स्रोङचङ गम्पोको विवाहले नेपाल र चीनबिचको सम्बन्धलाई सुमधुर र दिगो बनाएको इतिहास पनि हाम्रासामु छ ।
तर अहिले साधारण बिषयमै सम्बन्ध त्याग्ने क्रम बढेको छ । श्रीमतीले दिनहुँ झगडा गर्ने, माइतीमा गएर घर नफर्किने, बिदेशबाट पठाएको पैसा अरुसँग मिलेर मास्ने, परिवारको हेरबिचार नगर्ने, घर परिवारप्रति दर्शाउनुपर्ने न्यूनतम संस्कार समेतलाई लत्याई रहने, स–सना कुरामा पनि झैझगडा, कुटपटि गर्ने, बाबुआमालाई गालीगलौज गर्ने, सम्पर्कविहीन भएर बस्ने बानीले आजित भएको, श्रीमतीले शारिरीक तथा मानसिक रुपमा पीडित बनाएका, दिनुहुँ निहुँ खोज्ने गरेको राम्रोसँग नबोल्ने, झै झगडा मात्र गर्ने गरेकोमा पछि आफूखुसी डेरा लिई एक्लै बसेको, बिवाहले जीवनमा थप जटिलता आएको भन्दै पुरुषले सम्बन्ध तोड्न अदालत धाएका उदाहरण छन् । श्रीमान बिदेश गएर सम्पर्क बिहिन हुने, बाहिर शारिरिक सम्बन्ध राख्ने, अर्को बिवाह गरेको, कुटपिट गर्ने, कुलतमा फसेको, आफ्ना चाहाना पुरा नगरेको लगायत सामान्य र ठुला समस्या लिएर महिलाहरु अदालत पुग्दै छन् ।
कैलाली जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गराउनेको सख्यां बढ्दो छ । जिल्ला अदालत कैलालीमा एक वर्षमा ७६८ जना सम्बन्ध विच्छेदका लागि पुगेका छन् । जिल्ला अदालत कैलालीमा गत आर्थिक वर्ष कुल २ हजार पाँच सय ८२ मुद्दा दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् । बिगतमा निकै पिडा र समस्यापछि सम्बन्ध बिच्छेदका लागी अदालतसम्म पुग्ने गरेपनि पछिल्लो समय सामान्य बिवादमै सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुग्न थालेको कानुन ब्यवसायी बताउछन् ।
कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०८०÷०८१ मा ७ सय ६८ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । ति मध्ये ५८६ मुदा फर्छ्यौट भएका छन् । जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०८०÷०८१ मा जम्मा २ हजार ५ सय ८२ मुद्दा दर्ता भएकोमा ७ सय ६८ वटा सम्बन्ध विच्छेदका मुद्दाहरू रहेका छन् । गत आर्थिक बर्षमा सम्बन्ध बिच्छेदका लागी २ सय १२ मुद्दा पुरुषले मात्रै दर्ता गराएका छन् । सम्बन्धविच्छेद गर्न अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ । अदालतको तथ्याकं हेर्दा जिल्लामा सम्बन्धविच्छेदको समस्या विकराल बन्दै गएको जिल्ला अदालत कैलालीका प्रमुख न्यायाधीश दण्डपाणि लामिछानेले बताए । उनले भने, ‘सम्बन्ध विच्छेदका कारणहरू धेरै हुन्छन् । एउटा कारण त सम्पती हो । गरिबी जहाँ हुन्छ, जहाँ अभाव हुन्छ, त्यहाँ तनाव हुन्छ । वास्तवमा मान्छेका इच्छा चाहानाहरू धेरै हुन्छन् । समाजले, अहिलेको परिवेशले लगाएको, खाएको देखेपछि अनुकरण गर्ने प्रवृत्ति हामी सबैमा छ ।’ उनीहरूले आफ्ना चाहाना पूरा गर्न दोस्रो विवाह तथा फरक बाटो रोज्ने गरेको समेत देखिन्छ । न्यायाधीश लामिछानेले भने, ‘विवाह गरेर गएको घरमा महिलाले एक खालको अपेक्षा राखेको हुन्छ। तर आर्थिक अभावका कारण कतिपय अपेक्षाहरू पूरा हुँदैन। अहिले चाहानाहरू बढी छन् । मान्छेका चाहानाहरू पूरा नहुँदा अर्काेतिर पूरा हुने देखिएपछि सम्बन्ध तोड्ने गरिएको छ ।’
गत आर्थिक वर्षमा मुद्दाको सङ्ख्या ४ हजार १ सय ९४ पुगेको थियो । चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि १ हजार २ सय ८३ मुद्दाको जिम्मेवारी सरेर आएका छन् । गत आर्थिक बर्षमा चेक अनादरका ५ सय ९७ मुद्धा दर्ता भएका छन् । यस्तै ५ सय १७ अशंबण्डा तथा ५ सय १० मुद्धा लागुऔषदका दर्ता भएका थिए । यि बाहेक लेनदेन, बैकिंङ कसुर, जबरजस्ती करणी, जग्गा बिवाद, जालसाली, कर्तब्य ज्यान लगायतका मुद्धा बढ्दो क्रममा छ । पछिल्लो समय सम्बन्ध बिच्छेद सगैं बैकिंङ कसुर तथा लागु औषधका मुद्धाको संख्या निकै बढेको छ ।
पछिल्लो समय सम्बन्ध बिच्छेद सम्बन्धी मुद्धाले बिकराल रुप लिइरहेको भन्दै आम बुद्धिजिवी र कानुन ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । सम्बन्ध बिच्छेदका लागी अदालत पुग्नेहरु मध्ये सबै पिडितनै नरहेको नेपाल बार एशोसिएशन कैलालीका पुर्व अध्यक्ष शिद्धराज ओझा बताउछन् । केही त सामान्य घर झगडाले अदालत पुग्नुहुन्छ ओझाले भने “धेरैलाई हामीले सम्झाएर पठाउने गरेका छौँ, बिवाह गरेको दुई, तिन बर्ष नपुग्दै सामान्य झगडामा सम्बन्ध त्याग्न अदालत पुग्नु हुन्छ यो राम्रो होइन, ति मध्ये सिमित महिला तथा पुरुष वास्तविक पिडित भएर अदालत पुग्नुहुन्छ, उहाँहरुले न्याय पाउनुपर्छ हामीलेपनि भन्छौँ तर पिडित र वास्तवमै समस्या भएकाले सम्बन्ध त्याग्न आउनुपर्नेमा सगैं जिउने र मर्ने कसम खाएको दुई बर्षमै सम्बन्ध त्याग्न सम्म पुग्नु राम्रो हेइन ।” सामाजिक सञ्जालका कारणपनि धेरै सम्बन्ध बिग्रिने गरेको ओझा बताउछन् । श्रीमान, श्रीमती बिच सामान्य बिवादलेपनि अदालत धाउने प्रबृती बढ्दा बिवाह गरेको ४–५ बर्षमै जोडिहरु छुट्टिने क्रम बढेको उनले बताए ।
सबैभन्दा महत्वपूर्ण कुरा पारिवारिक संरचना र सम्बन्धमा विखण्डन आँउछ । पारिपारिक सम्बन्ध टुक्रिने भयो । पहिला जे भएपनि मिलेर बस्नुपर्छ, एकजुट भएर बस्नुपर्छ भन्ने हुन्थ्यो अब त्यो नरहने भयो । अर्को चाहीँ विवाहको मान्यता भत्किने भयो । पहिला जसरी बिहे सात जन्मका लागि भनिन्थ्यो त्यो नरहने भयो । त्यो मान्यतामा परिवर्तन आउने भयो । यस्तै सामुहिकता भन्दा पनि ब्यक्तिवादिता बढेर जाने भयो । यसको प्रभाव बालबालिकामा पनि देखिने भयो । महिलाहरु पनि आत्मनिर्भर बन्दै गएकोले यसको असर उनीहरुमा पनि त्यति पर्दैन तर आर्थिक अवस्था कमजोर भएका महिलाहरु भोलि आर्थिक चपेटा, गरिबीमा पर्न सक्छन् । बाबुआमाबीचमा सम्बन्ध बिच्छेद भएपछि बालबालिकाको समग्र विकासमा असर पर्छ । उनीहरुको शिक्षामा, भावानात्मक विकासमा, बाबुआमा छुट्टाछुट्टै बसेपछि उनीहरुको व्यक्तित्व विकासमा, उनीहरुको प्रगतिमा यसले बाधा उत्पन्न गर्छ । पछि गएर मानसिक समस्या आँउने, डिप्रेशनमा पर्ने समस्या पर्छ ।


