धनगढी । कैलालीको टीकापुर नगरपालिका–१, शक्तिनगर मुक्तकमैया शिविरकी सीता चौधरी थारु विद्रोह दिवस मनाउने तयारीमा छिन् । शिविरका बरघर ले शुक्रबार बिहानै विद्रोह दिवस मनाउन जान शिविरभरि निर्देशन दिएपछि शिविरका अन्य सदस्यजस्तै उनी पनि तयार भएकी छन् । मुक्तकमैया समाजकी केन्द्रीय सदस्यसमेत रहेकी सीता चौधरीले त्यहाँस्थित शक्तिनगर, शिवनगर र चमेलीपुर शिविरको नेतृत्व गरेर जाने बताइन् । टीकापुर नगरपालिका–१, सिर्जनशील टोल विकास समितिका अध्यक्ष गोपाल चौधरी पनि विद्रोह दिवस कार्यक्रममा जाने तयारीमा छन् ।
अधिकारको लागि थालेको आन्दोलनकै रूप भएको बताउँदै उनले २०७२ सालदेखि प्रत्येक वर्ष दिवस मनाउँदै आएको जानकारी दिए । उत्साहित हुँदै सीता चौधरीले भनिन्, ‘यस अर्थमा आज विद्रोह दिवस हो कि, आजकै दिन हामीले आफ्नो हक अधिकारको लागि आवाज उत्कर्षमा पु¥याएका थियौँ । तर राज्यले हाम्रो आवाजलाई नै दबायो । हाम्रा मान्छेहरूलाई नभएको मुद्दा लगायो ।’ अहिले कायम भएको सुदूरपश्चिम प्रदेश सरकारले थारुलाई आधिकार दिन निकै कन्जुस्याइँ गरेको उनको भनाइ छ । उनले भनिन्, ‘सायद हाम्रो चाहना अनुसारको थरुहट भएको भए यो दिन आउने थिएन ।’ सीता र गोपाल चौधरीको जस्तै टीकापुर नगरपालिका–६, लक्षिनापुर गाउँका भलमन्सा रामकृष्ण चौधरी पनि बिहानैदेखि कार्यक्रममा जाने तयारीमा छन् ।
रामकृष्ण चौधरीले रातोपाटीसँग भने, ‘हामी आज पनि स्मरण गरिरहेका छौँ । त्यो आन्दोलन कसैको विरुद्ध थिएन । कुनै जाति विशेषको विरुद्ध पनि थिएन । केवल संविधानमा हाम्रो पनि अधिकार लेखियोस् भन्ने थियो । तर टीकापुर घटनापछि राज्यले दमन ग¥यो ।’ थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली, थारु कल्याणकारिणी सभा कैलालीलगायत संघ संगठन शुक्रबार टीकापुरमा विद्रोह दिवस मनाउँदै छन् ।
टीकापुर घटना मद्दामा राज्यले २८ जनामाथि मुद्दा चलायो । जसमध्ये ३१ जना अझै फरार छन् । पक्राउ परेका रेशमलाल चौधरी, लक्ष्मण थारुसहित २७ जना विभिन्न तहको अदालतबाट सजाय फैसला भइ सजाय भुक्तानी गरिसकेका छन् । केही भने अदालतबाट सफाइ पाएका छन् । तर राजनीतिक मुद्दालाई आपराधिक मुद्दाकै नजरियाबाट हेरिएपछि समाजमा त्यसको दीर्घकालीन समाधानभन्दा पनि नकारात्मक असर परेको थरुहट अगुवा बताउँछन् ।
टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धविन्द्र रावलले थरुहट आन्दोलनको मुद्दा र टीकापुर घटनाले समाजमा गहिरो असर पारेको बताउँछन् । ती मुद्दा र परिघटनाहरु राजनीतिक मुद्दा भएकाले राजनीतिक रूपमा समाधानको बाटो खोज्नुपर्ने उनको भनाइ छ । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाले थारु दिवसको कार्यक्रममा आफूहरूको पनि ऐक्यवद्धता रहेको बताए । उनले भने, ‘नहुनुपर्ने घटना भइहाल्यो । अब हामी सबै मिलेर यहाँको विकास र समृद्धिमा एकढिक्का भएर लागेका छौँ । म पनि कार्यक्रममा जाने तयारीमा छु ।’


