धनगढी: कैलालीको अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नी पूर्व कर्मचारी बिना चौधरी (योगी) ले गरेको व्यक्तिगत कारोबारको जिम्मा सहकारीले नलिने जनाएको छ । सहकारीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीको कर्मचारी हो भन्दैमा उसले व्यक्तिगत रूपमा गरेका कामको संस्थाले जिम्मेवारी नलिने जनाएको हो । कुनै पनि संस्थाको कर्मचारीले बाहिर के के कुरा गर्छ भन्ने कुराको जिम्मेवारी संस्थाले लिनुपर्ने हो र’ संस्थाका अध्यक्ष ललित रोकायाले भने ‘बाहिर पर्सनल लाइफमा के कुरा गर्छ भन्ने हाम्रो सरोकार छैन । कसैले उसलाई मिटर व्याजमा पैसा दिएको सुन्नमा आएको छ । संस्थागत रूपमा बाहिर भनिएको जस्तो केही पनि गरेको छैन ।’
उनले सहकारीमा बिनाले करिब ८ लाख रुपैयाँ तिर्न बाँकी रहेको देखिएको बताए । ‘सहकारीका नाममा सदस्यबाट बचत उठाएर पास बुकमा ईन्ट्रि गरेको तर संस्थामा नदेखाएको करिब ४ लाख जति रकम छ’ रोकायाले भने ‘त्यसबाहेक संस्थाबाट उनले करिब ४ लाख जति ऋण लिएकी छन्, यसरी हेर्दा कुल ८ लाख जति संस्थालाई बिनाले तिर्न बाँकी देखिएको छ ।’ उनले सदस्यहरूबाट संस्थाको नाममा बिनाले पास बुकमा ईन्ट्रि गराएको रकम सहकारीले तिर्ने बताए । ‘सहकारीको पास बुकमा ईन्ट्रि भएको तर अफिसमा नदेखाइएको पैसा पनि सहकारीले तिर्छ, हामी सदस्यहरूको त्यस्तो पैसाको जिम्मेवारी लिन्छौ’ अध्यक्ष रोकायाले भने । १ महिना अघि देखि फरार रहेकी बिनाले अत्तरिया बजार क्षेत्रका केही व्यक्तिबाट करोडौं रकम लिएर फरार रहेको आरोप लागेको छ ।