धनगढी :बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर २ छेपट्टाका राजेन्द्र बोहरा महेन्द्रनगर देखी दार्चुला चल्ने बसमा सह चालकको काम गर्थे । गत जेठ १३ गते बिहान बसमै बैतडीको गोकुले पारी पुगेका बोहरालाई उनकै साथी दार्चुलाको शैल्यसिखर नगरपालिका १ बलाँचका दमन सिहं खडायतले भेटे । एकछिन गोकुले पुगेर फर्किने बताउँदै बोहरालाई जानका लागी उनले प्रस्ताव गरे । गोकुले जाउँ भन्ने प्रस्ताव सगैं बोहरा खडायतको सु.प.प्र ०१–०० प १२९४ मोटरसाइकल पछाडी बसे । तर राजेन्द्र बोहरालाई दमनले समयमै फिर्ता ल्याएनन् । उल्टै दिनभरी गोकुलेमै रहे । मध्यान्न तिर राजेन्द्रलाई मोटरसाइकल पछाडी राखेर दमन सिहं खडायत डिलासैनी गाउँपालिका ३ रुइनेत पुगेका थिए । तर त्यहाँ दुर्घटना भयो । प्रहरीले बनाएको कागजमा दुर्घटना भयो भनिएको छ, तर परिवारले त्यो दुर्घटना नभई नियोजित घटना भएको आरोप लगाएका छन् ।
घटना घटेको ठाउँबाट स्वास्थ्य चौकी सम्म दमन खडायतलेनै ल्याएको आफन्तहरुले बताएका छन् । त्यसपछि राजेन्द्र बोहराका बुवा नन्दे बोहरालाई खबर भयो । छोरा दुर्घटनामा परी घाइते भएको खबर सुनेपछि हत्तपत्त अस्पताल पुगेका बुवा नन्देले छोरालाई बेहोस अवस्थामै भेटे । त्यस लगत्तै एम्बुलेन्समा राखेर उनले छोरा राजेन्द्रलाई धनगढी पुगाए । करिब एक हप्ता राजेन्द्रको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भयो । यहाँ खासै स्वास्थ्य सुधार नभएपछि राजेन्द्रलाई भारतको भोजिपुरमा लगियो । भोजिपुरमा १५ दिन उपचार पश्चात उनलाई नेपाल ल्याइयो । त्यसपछि धनगढीकै सेती अस्पतालमा उनको उपचार थालियो । तर सेतीमा राम्रो सित उपचार नपाएपछि घाउ झन बल्झिदै गएको बुवा नन्देले बताए । सेतीको उपचारले ठिक नहुने देखिएपछि फेरी उनलाई भारतकै भोजिपुर लगियो । गोकुलेबाट धनगढी, भारतको भोजिपुर फेरी धनगढी र भोजिपुर गर्दा बोहरा परिवारको करिब १८ लाख रुपयाँ खर्च भइसकेको छ । उनका बुवा नन्देका अनुसार यता उता गर्दा गर्दै आफुसित भएको र सापटी गरेको रकम समेत सकिएपछि गोदावरी नगरपालिका ५ गेटामा रहेको घरमै छोरालाई राखिएको छ । उपचार गर्न रकम अभाव भएपछि अचेत छोरालाई घरमै राखेको उनी बताउँछन् ।
राजेन्द्रकी दिदि देवकी साउँद भाइको हेरचाह गर्न र घाउ सफा गर्न उनकै घरमा छिन् । छोरा अचेत अवस्थामा हुँदा छेदबिच्छेद बनेका बुढा बुवा आमाको साहारा बन्न भएपनि उनि घरमा आइरहन्छिन् । भाइको उपचारका लागी रकम अभाव हुँदा उनिपनि समय समयमा भक्कानिन्छिन् । भाइको दुर्घटना नभई योजनाबद्ध घटना घटाइएको हुँदा दोषी दमन खडायतलाई कानुनी दायरामा ल्याइनुपर्नेमा उनको जोड छ । भाइलाई जबरजस्ती गोकुले लगेर दुर्घनामा पारेको छ उनले भनिन् “गाडी अनियन्त्रित भनिएको छ, चालकलाई केही छैन, मेरो भाई अचेत छ, यो जानाजान घटना घटाइएको हो, वडा अध्यक्ष भरत खडायतले पिडकलाई सम्पर्कमा ल्याउने गरी कागज बनाएका छन्, तर अहिले कोही सम्पर्कमा छैन, यहाँ मेरो भाई जिवन मरणको दोसाँधमा छ ।”
उपचार खर्च समेत दिइएको छैन । सम्पर्क गर्न खोज्दा मोटरसाइकल चालक दमन खडायतका दाइले ज्यान मार्ने धम्की दिन्छन् उनले भनिन् “बैतडी प्रहरीले पक्राउ पुर्जी जारी गरेर कैलाली प्रहरीकहाँ पठाउको सुनेकी छु, यता बुझ्दा बिस्तारै हुन्छ भन्छन्, उसले काग्रेंसको मान्छे हुँ जेपनि गर्न सक्छु भन्दै धम्की दिन्छ, भाइलाई मैले ४० हजार रुपयाँ दिएकि थिए, अनी २७ हजार बसको चलान सहित थियो, त्यो पैँसा समेत लुटिएको छ, यो पुरै सुनियोजित घटना हो ।” न्याय माग्ने ठाउँ जाँदा न्याय भन्दा अन्याय गरेको महसुस हुने गरेको सुनाउँदै उनले भाइको ज्यान बचाउनका लागी सहयोग गरिदिन अपिल गरेकि छिन् ।
राजेन्द्रका भाई श्रीकान्त बोहरा सशस्त्र प्रहरीको जागिरे हुन् । उनि आफ्नो ड्युटी सगैं दाइको हेरचाहमा समय दिन्छन् । दाइको उपचारका लागी हरदम प्रयास गरेका उनि न्याय माग्न प्रहरीकहाँ पनि दैनिक धाइरहन्छन् । छोरा अचेत देखेर बेचैन भएका बुवा आमालाई सम्हाल्न उनलाई कहिले काँही मुस्किल पर्छ । न्यायको ढोका ढकढकाउँदापनि पिडकलाई प्रहरीले पक्राउ गर्न चासो दिदैन र उनिपनि न्याय पाउने आश मार्छन् । उनले सहयोगका लागी ९८६८७५२०३१ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
यसैबिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री शुरेन्द्र पालले दुर्घटनापछि अचेत रहेका बोहरालाई आर्थिक सहयोग गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर २ क्षेपट्टा स्थाई घर भई हाल कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा बस्ने राजेन्द्र बोहरालाई पालले दुई लाख आर्थिक सहयोग गरेका हुन् । हालसम्म उपचारमै करिब १८ लाख रुपयाँ खर्च गरिसकेको बोहरा परिवारलाई थप उपचारका लागी कठिनाई भएपछि केही राहत स्वरुप सहयोग उपलब्ध गराएको पालले बताए । यो घटना दुर्घटना भन्दापनि सुनियोजित घटना हो भन्ने लागेको छ, बोहराको उपचारमा सर सापटी गरेर पनि परिवारले निकै खर्च गरिसकेको छ पालले भने “अँझै उनि अचेत छन्, उपचार गराउन सके उनि निको हुने सम्भावना छ, त्यस कारण मैले सकिने केही सहयोग गरेको छु र अन्य सबैलाइपनि उनको ज्यान बचाउन सहयोगका लागी अपिल गर्दछु ।”