धनगढी : पश्चिम नेपालको थारु बाहुल्य क्षेत्रमा बाल पर्वको रुपमा चिनिने गुरही पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । नाग पञ्चमीका दिन पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै काठमाडौँमा समेत भव्यताका साथ गुरही पर्व मनाइएको हो । यसैबीच कैलालीको धनगढी उपमहानगरपपालिका वडा नं. ८ स्थित गुरही चोकमा बृहत गुरही कार्यक्रम गरिएको छ । धनगढीस्थित गुरही चौकमा भव्यताका साथ गुरही पर्व मनाइएको छ । सो कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला कुमारी रानाले संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताइन् । पश्चिम तराइका राना थारुको संस्कृती सरंक्षणका लागी धनगढी उपमहानगरपालिकाले आवश्यक सहकार्य गरिरहेको उनले बताइन् । सोही पर्वको जगेर्ना स्वरुप धनगढी उपमहानगरपालिकाले सार्वजनिक विदा समेत दिएको रानाले बताइन् ।
थारु समुदायको चाडको सुरुवातको रुपमा गुरही पर्वलाई लिइने गरिन्छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने जनबिश्वास छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाउने गरिएको थारु कल्याण कल्याणकारिणी सभा कैलालीका पुर्व कार्यबाहक अध्यक्ष माधव चौधरीले बताए । यो पर्वमा केटाहरूले सोंटा वा केराको डाँठ तयार पार्छन् उनले भने “साँझपख बालिका तथा युवतीहरू परम्परागत पोसाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् ।
केटाहरूले सोटा लिएर जम्मा हुन्छन् । जम्मा भएका बालिकाहरुले गुरही फाल्छन् र केटाहरूले सोंटा र कोर्राले पिट्ने चलन छ । केटीहरू गुरही फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्ने गर्छन् ।” पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी (भुटेका मकै) माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् । कतिपय गाउँमा पिटिएका यी गुरही सडक र चौरमै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लैजाने गरिन्छ । यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिने गुरही पर्व कार्यक्रमकी सयोंजक उन्नती चौधरीले बताइन् ।
यती मात्रै नभएर मौलिक संस्कृति झल्किने मौलिक झुम्रा नाचसहित गुरही पर्व मनाइने गरिन्छ । सो पर्वमा थारु समुदायका घरहरूमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियत अनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । महिला (केटीहरू)ले कपडाका रङ्गीचङ्गी कपडाका गरही बनाउने चलन छ । परम्परागत पर्वको जगेर्नाका लागी अहिले फरक ढगंले मनाइने गुरहीमा युवा पिढिंको पनि आकर्षण बढ्द गएको चौधरीको भनाई छ । पछिल्लो समय नयाँ पुस्तालाई पुरानो संस्कृती सगं जोड्न भब्य कार्यक्रम गरिन थालेको उनले बताइन् ।
गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको छ । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ ।