धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले बजेट पारित नहुनुको सबै दोश प्रदेश प्रमुख नजिर मियालाई दिएको छ । अल्पमतमा परिसकेको प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याएर पास गर्ने तयारी गरेपनि प्रदेश प्रमुख मिया काठमाण्डौँ जाँदा सो प्रक्रिया रोकिएको हो । हामीले असार २८ गते सदन अन्त्यका लागी प्रदेश प्रमुखकहाँ सिफारिश गर्ने निर्णय गरेका थियौँ प्रदेश सरकारका प्रवक्ता समेत रहेका जलश्रोत तथा सहरी बिकास मन्त्री अक्कल रावलले भने “सदनबाट बजेट पास हुने अवस्था नभएपछि अध्यादेशबाटै भएपनि निकास दिने तयारीमा हामी थियौँ, त्यसका लागी सदन अन्त्य गरिनुपर्छ, सदन अन्त्यका लागी सिफारिश गरेको ४ दिन भइसक्यो प्रदेश प्रमुख काठमाण्डौँमा हुनुहुन्छ, त्यही कारण अध्यादेशको प्रक्रियापनि रोकियो ।”
प्रदेशसभामा बजेट प्रस्तुत गर्ने एमालेबाटै मन्त्री भएका शुरेन्द्र पाल हुनुहुन्थ्यो त्यस कारण पहिलो जिम्मेवारी उहाँकै हो रावलले भने “बजेट अलपत्र छोडेर उहाँले राजिनामा दिइसकेपछि हामीले सदनमा छलफलको प्रयास गरेका थियौँ, सम्भव नदेखिएपछि कानुनी प्रावधान अनुसार असार मसान्तभित्र बजेट अध्यादेशबाट भएपनि पास गर्ने तयारीमा थियौँ तर प्रदेश प्रमुख कुनै पार्टीको कार्यक्रताझैँ भएर ठिक्क हामीले तयारी गरेकै बेला काठमाण्डौँ हिन्नुभयो अनी हामीले त्यो प्रक्रिया अगाडी बढाउन पाएका छैनौँ ।” सबिंधान अनुसार असारमा बजेट पास गरेर साउनदेखी कार्यान्वयन हुन्छ, राजश्व उठाउन शुरु गरिन्छ, अब बजेट पास नहुँदा ति प्रक्रिया सबै रोकिने छन्, उनले भने “यसमा एमालेका साथीहरु जिम्मेवार हुनुभएन, आफैले उत्कृष्ठ भनेको बजेट बिच बाटोमै छोडेर जानुभयो उहाँकै कारण नयाँ आर्थिक बर्षमा आर्थिक गतिबिधि ठप्प हुने छन्, यसले समग्र प्रदेशलाई घाटा हुने छ, हामी सकेसम्म बजेट पास गर्ने गरी लागिरहेका छौँ ।”
प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८१–८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । तर पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकार अल्पमतमा परेपछि बजेटमा छलफलसमेत हुन सकेन । सभामा बजेट पेस गरेका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले पदबाट राजीनामा दिइसकेका छन् । एमालेले समर्थन फिर्ता लिएसगैं प्रदेश सरकार अल्पमतमा परिसकेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गतेसम्म विश्वासको मत लिनुपर्ने छ ।