धनगढी : कैलालीको गोदावरी नगरपालिकाले कार्यबिधि बिपरित साढे ९ लाख रकम बाँडेको छ । आर्थिक सहायताका नाममा नगर प्रमुखको तोक आदेशमा १० हजार तथा कार्यपालिकाको निर्णयबाट २५ हजार सम्म आर्थिक सहायता दिन मिल्ने नियम भएपनि नगरपालिकाले १० जनालाई कार्यबिधि भन्दा दोब्बर बढी रकम बाडेको छ । आर्थिक सहयोगका नाममा बढीमा २५ हजारसम्म दिन मिल्ने भएपनि नगरपालिकाले कार्यपालिकाको निर्णयबाट प्रतिभा चुनाराका नाममा ५० हजार भुक्तानी गरेको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार उनलाई २५ हजार रकम बढी भुक्तानी गरिएको छ ।
आर्थिक बर्ष २०७९/८० मा नगरपालिकाले उनि सगैं १० जनालाई कायबिधि बिपरित रकम बाँडेको हो । शकंर प्रसाद देवकोटाका नाममा १ लाख, शान्ति ओझाका नाममा ५० हजार, उदे शार्कीका नाममा ५० हजार, साइकल राइडर भरत बिक्रम शाहका नाममा ५ लाख, रामचन्द्र ओझाका नाममा ५० हजार, भावना देवी कलेलका नाममा २ लाख, राजकुमार भट्टका नाममा ५० हजार, बिरेन्द्र प्रसाद भट्टका नाममा ५० हजार र साबित्रा भट्टका नाममा १ लाख रकम भुक्तानी भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
नियम अनुसार १० जनाका नाममा २ लाख ५० हजार रकम निकासा हुनुपर्नेमा १२ लाख भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । महालेखाका अनुसार बाकीँ ९ लाख ५० हजार अनियमितता भएको छ । यस्तै नगर कार्यपालिकाले निर्णय गर्दै पदाधिकारीलाई समेत आर्थिक सहायता दिएको उल्लेख छ । सुदुरपश्चिम प्रदेशको स्थानिय सदस्य तथा पदाधिकारीको सेवा सुबिधा सम्बन्धमा आर्थिक सहायता सम्बन्धमा कुनै ब्यवस्था गरेको छैन । तर नगर कार्यपालिकाले २०७९ साउन ११ गतेको बैठकबाट वडा नम्बर १२ का अध्यक्ष भिम बहादुर खड्कालाई आर्थिक सहायता स्वरुप २५ हजार भुक्तानी गरेको छ । महालेखाका अनुसार उक्त भुक्तानी नियम सम्मत भएको छैन ।


