धनगढी : दुई जना पुरुष एकै पटक भागरथीको कोठामा पुगेपछि बैतडीको पाटन नगरपालिका ६ का बिरभान बिष्टको हत्या भएको खुलेको छ । हत्या आरोपमा पक्राउ परेको सोही ठाउँकी भागरथी बिष्टले प्रहरीलाई दिएको बयान अनुसार अनुसार शनिवार राति ट्रक चालक वीरभान विष्ट महिलाको घरमा पुगेको देखिन्छ सोही समयमा अटोरिक्सा चालक पनि एकल महिला (शिक्षिका)को कोठामा पुगेको रहस्य खुलेको छ । अटोरिक्सावाला युवा पुग्दा झगडा र झडप सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ट्रक चालक वीरभान विष्टले महिलालाई गाली गर्दै अटोरिक्सा चालकसँग झडपको अवस्था सिर्जना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अटोरिक्सा चालक र महिलाले वीरभान विष्टको हत्या गरेर शनिवार राति घरभित्र शव लुकाएको खुलेको छ । आइतबार दिनभरि महिलाले घरभित्र सरसफाइ गरेको भेटिएको छ । शव भने आइतबार राति प्लास्टिकमा बेरेर फालिएको प्रहरीले आशङ्का गरेको छ । सोमबार बिहान स्थानीयले खेतको आलीमा रगतका टाटासहित घिसारेको जस्तो देखेका थिए । खेतको आलीमा घिसारिएको सङ्केतका आधारमा परिवारले सोमबार बिहान मात्रै प्रहरीमा मौखिक उजुरी दिएका थिए ।
हत्या गरेको आरोपमा शिक्षिका भागरथी विष्ट, पाटन नगरपालिका–१,का दुई जना विद्यार्थी राजेन्द्र भट्टराई र किशोर भट्टराई पक्राउ परेका छन् । पक्राउ परेका दुई जना विद्यार्थीलाई शिक्षिकाले मोटरसाइकलमा शव लैजान २० हजार रुपियाँ दिएको खुलेको छ । शिक्षिकासँगै हत्यामा संलग्न पाटन नगरपालिका–६,का अटोरिक्सा चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।


