धनगढी : कैलालीको गोदावरीमा विकास निर्माणका कामलाई लत्याएर फजुल खर्च गर्ने काम भइरहेको छ। आर्थिक वर्ष २०७९/८० मा भात खाएर मात्र २१ लाख रुपैयाँ सकिएको छ। गोदावरीको आन्तरिक आम्दानी घट्दै गएका बेला भात खाएवाफत मात्र २१ लाख रुपैयाँ खर्च गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर औचित्यको आधारमा खर्च गर्नुपर्ने उल्लेख छ।
तर गोदावरी नगरपालिकाले भने ऐन र सो ऐनको दफा विपरीत खाना तथा विविध खर्च भनेर २१ लाख रुपैयाँ खर्च गरेको छ। जुन गोदावरी नगरपालिकाको ९ करोड ९२ लाख २१ हजार ८ सय १ को २ दशमलव ११ प्रतिशत हो। खानाको नाममा औचित्यबिना नै खर्च गरेको पाइएको हो।


