डडेल्धुरा : जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ । अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर देखिने थापाको शालिक हटाएर नयाँ राखेसँगै किल्लाको महत्व बढेको हो । अहिले थापाको नामबाट स्थापित नेपालको ऐतिहासिक अमरगढी किल्ला नेपाल आर्मी र स्थानीय सरकारको पहलमा पुनःनिर्माण गरेपछि आन्त्रिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् । गत साता राष्ट्रिय विभूति अमरसिंह थापाको नयाँ सालिक किल्ला परिसरमा अनावरण गरिएको अमरगढी नगरापलिकाका प्रमुख डिल्लीराज जोशीले बताए । पुरानो सालिक हटाएर नयाँ राख्दा किल्लाको सुन्दरता बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।
किल्ला परिसरमा यथाशीध्र पुराना शैलीका हातहतियार अन्य ऐतिहासिक र पुरात्वात्तिक वस्तुसमेत राखिने प्रमुख जोशीले जानकारी दिए । पर्यटकीय आकर्षणको केन्द्रका रुपमा रहेको यस परिसरमा पुराना हातहतियार, बन्धुक, तोप, गोला र काँडमका हतियार राख्न सके पर्यटक आकर्षित गर्न सहज हुने उनको भनाइ छ । पहिले राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्णकदको सालिक राखिएको अमरगढी नगरपालिकाले जनाएको छ ।
“धेरैले थापाको अनुहारसँग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका थिए”, प्रमुख जोशीले भने, “झण्डै एक वर्षको प्रयासपछि अहिले नयाँ सालिक अनावरण गर्न सफल भएका छौंँ ।” सालिकले किल्लाको गरिमा बढाउनुका साथै इतिहासलाई जीवन्त राख्ने काम गरेको उनले बताए । प्रमुख जोशीले अमरगढी किल्लालगायतका ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सबैले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए। जिल्लाका इतिहाससँग जोडिएका संरचना पुनःनिर्माण हुन जरुरी रहेको उनको भनाइ छ ।
अमरगढी किल्ला, अजयमेरुकोटलगायत धार्मिक क्षेत्र पनि यस जिल्ल्लामा अवस्थित छन् । पुरात्वात्तिक विभागका साथै विभिन्न पहिचान र संस्कृति संरक्षणमा लागेका सङ्घसंस्थाले यसतर्फ ध्यान दिँदै जीर्ण संरचनाको संरक्षणका लागि पहल गर्नुपर्ने स्थानीय बताउछन् । अमरगढी नगरपालिकामा मात्रै राउलतोली गुफा, उग्रतारा मन्दिर, घटालथान, कस्याटाकुरो सहस्रलिङ्गलगायत धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । अङ्ग्रेजसँगको लडाइँ लड्न अमरसिंह थापाको सेनाको फौज लामो समयसम्म तयार अमरगढी किल्लामा बसेको इतिहासकार बताउँछन् ।


