धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका ६ सुवरखालका चक्रबहादुर कठरियाको मातृभाषा कठरिया हो । डंगौराथारुसहित अन्य भाषाको प्रभावले घर भन्दा बाहिर उनको सम्पर्क भाषा डंगौराथारु वा नेपाली हो । उनको कठरिया भाषा घरभित्रै सीमित हुन थालेपछि बाहिरको माध्यम भाषा अन्य भाषा बनेको हो । तर गाउँमै कठरिया भाषा सम्बन्धी एक महिने कक्षा सञ्चालन गरिएपछि उनी अब आफ्नै कठरिया भाषामा निर्धक्कसँग लेख्न र बोल्न हिचकिचाउन छोडेका छन् ।
उनी भन्छन्, ‘आफू कठरिया जाति भए पनि कठरियाबारे केही पनि जानकारी थिएन । जनसंख्याको हिसाबले कम भएको कारण अन्य भाषाको प्रभाव थियो । अब चाहिँ घर, समुदायमा आफ्नै भाषा लेख्न र बोल्न कक्षा लिएपछि भाषाप्रति उत्प्रेरित गरेको छ ।’ भाषालाई लोप हुन नदिन कठरिया समुदायका युवा युवतीका लागि ‘कठरिया भाषा सरासर पढ्ने र लेख्ने’ कक्षा सञ्चालन गरिएको छ । हिमाली आदिवासी समाज काठमाडौँ र कठरिया समाज नेपालको सहकार्यमा कैलालीस्थित विभिन्न पालिकामा १५ वटा कक्षा सञ्चालन गरिएको छ । जुन १५ वटा कक्षामा ४५० जना युवायुवतीहरूले कक्षा लिएका छन् ।
एक महिने भाषा कक्षासँगै पाठ्यक्रममै कठरिया समुदायको लिपी, भेसभुसा, कला, संस्कृति, खानपानलगायतबारे पनि उल्लेख गरिएपछि आफ्नो समुदायबारे नजिकबाट बुझ्न पाएका हुन् । एक महिने कक्षा लिएकी भजनी नगरपालिका ७ चर्राकी विना कठरियाले भाषासँगै समुदायको कला संस्कृति, भेसभुसाबारे नजिकबाट बुझ्न पाएको बताइन् । उनले भनिन्, ‘चाडपर्व, पहिरन, लवाइखवाइ सबै बिर्सिन लागेका थियौँ । कक्षामा सबै सिक्ने मौका मिल्यो । म आफै पनि हाम्रो परम्परागत अँगिया र लेहंगा बनाउने काम गर्दै आएको छु ।’
भाषा कक्षाले कठरिया समुदायका युवायुवतीलाई भाषाप्रति उत्साहित बनाउनुका साथै आउँदो पिँढीलाई समुदायका बारेमा सिकाउनुपर्छ भन्ने जागरण समेत ल्याइदिएको छ । चक्रबहादुर कठरिया भन्छन्, ‘हामीले आफ्नो नामको पछाडि ‘कठरिया’ थर मात्रै झुन्ड्याएर के गर्नु ? आफ्नै भाषा नै छैन भने केही छैन । कुन पनि जाति समुदायको उसको मौलिक भाषा उसको प्राण हो ।’ जानकी गाउँपालिका ४ मुनुवाकी अर्पण कठरियाले अगाडि भनिन्, ‘कुनै पनि समुदायको उसको भाषा र लिपी मुख्य आधारस्तम्भ हो । भाषा विना त्यस समुदायको अस्तित्व पनि हुँदैन । त्यही भएर मातृभाषा संरक्षण गर्नुपर्छ भन्ने जागरण आएको छ ।’ हिमाली आदिवासी समाज काठमाडौँका फिल्ड सुपरभाइजर ठागुराम कठरियाका अनुसार वैशाख पहिलो सातादेखि सुरु गरिएको प्रत्येक कक्षामा २५ देखि ३० जनाको सहभागिता रहेको थियो ।
कठरिया भाषाको वर्णसहित पाठ्य पुस्तक तयार गरी कक्षा सञ्चालन गरिएको हो । कक्षा सञ्चालनपछि लेखनशैलीमा एक रुपता, दस्तावेजीकरण र सांस्कृतिक जागरण ल्याएको उनको भनाइ छ । फिल्ड सुपरभाइजर कठरियाका अनुसार सो कक्षा जिल्लाको कैलारी गाउँपालिकाको लौसा र पवेरामा, घोडाघोडी नगरपालिकाको बगुलहिया, सिसैया, टपा, कोंटामा सञ्चालन गरिएको थियो । त्यस्तै, भजनी नगरपालिकाको चर्रा, बर्दगोरिया गाउँपालिकाको मुडा गाउँ, तुलसीपुर, भुरबा, सुवरखालमा, जोशीपुर गाउँपालिकाको सिमरी, घुसरी, लक्कडमा र जानकी गाउँपालिकाको मनुवामा कक्षा सञ्चालन गरिएको हो ।


