धनगढी : लागु औषध पुर्नस्थापना केन्द्र (रियाब) का सञ्चालक तथा कर्मचारीहरुलाई मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको छ । प्रदेश युवा परिषद सुदुरपश्चिमको अयोजनामा ६ दिने मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको हो । सुदुरपश्चिममा सञ्चालित २० जना लागु औषध पुर्नस्थापना केन्द्र (रियाब) का सञ्चालक तथा कर्मचारीहरुलाई धनगढीमा तालिम दिइएको हो । मनोसामाजिक सम्बन्धीका प्रशिक्षकहरुबाट उनिहरुलाई तालिम दिइएको प्रदेश युवा परिषदले जनाएको छ ।
आज एक कार्यक्रमका बिच सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले लागु औषध पुर्नस्थापना केन्द्र सञ्चालक तथा कर्मचारीहरुका लागी यो तालिम महत्वपुर्ण रहेको बताए । लागु औषध पुर्नस्थापना केन्द्र ब्यापारमुखी मात्रै नभएर सेवामुखी बनाउनुपर्ने जोड दिएका कुवँरले तालिममा सिकेका कुराहरुलाई दैनिक काम काजमा कार्यान्वयन गर्न सुझाव दिए । कसरी बढी भन्दा बढी लागुऔषध सेवनकर्ताहरुलाई निको बनाएर सक्षम नागरिक बनाउन सकिन्छ त्यो बाटोमा लाग्न उनले सुझाव दिए ।
कार्यक्रमको अध्यक्ष रहेका प्रदेश खेलकुद परिषद सुदुरपश्चिमका सदस्य हिरा सिहं धामीले यस तालिमबाट लागु औषध पुर्नस्थापना केन्द्र सञ्चालकहरुमा मनोसामाजिक उर्जा थपिएको बताए । सुधार केन्द्रमा आएका ब्यक्तीहरु सगं गर्नुपर्ने ब्यवहार, उहाँहरुका मनोभावना बारे धेरै कुरा सिक्न पाएको र यसलाई ब्यवहारमा उतार्न उनले आग्रह गरे ।